अर्थ / बाणिज्य

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुने, दैनिक ७५ टन उत्पादन

इकागज |
साउन ११, २०७८ सोमवार २१:२ बजे

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब पचास करोड रूपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्यास भएको छ । आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्यास गरेका हुन् । 

अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले संयुक्त रूपमा उद्योगको शिलान्यास गरेका हुन् । 


आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुने बताइएको छ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने ढकालले बताए । 

दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमताको यस उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । यस उद्योगले कागजको आयातलाई प्रतिस्थापन गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
 


Author

थप समाचार
x