अर्थ / बाणिज्य

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण

इकागज |
साउन ११, २०७८ सोमवार २१:४ बजे

काठमाडौँ - उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । 

उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याइएको छ । 


यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बेहोस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ ।

विमानस्थलका अनुसार काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको बिएचए २५५ नम्बर उडानको एटिआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६:३० बजे काठमाडौँ अवतरण भएको थियो  । सम्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै विमानस्थलले जहाज अवतरणका क्रममा सुरक्षा संयन्त्रलाई तैनाथ राखेको थियो । (रासस)
 


Author

थप समाचार
x