मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
मुद्दती निक्षेप र अन्य निक्षेपको ब्याजदर ५ प्रतिशत बिन्दूभन्दा फरक पार्न नपाइने
काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक अवधिको समीक्षा गर्दै बचतकर्ताको संरक्षणका लागि मुद्दती निक्षेपमा दिइने ब्याजको तुलनामा अन्य निक्षेप योजना (कल निक्षेप बाहेक) मा ब्याजदर ५ प्रतिशत बिन्दूभन्दा फरक पार्न नपाइने व्यवस्था गरेको छ । यो व्यवस्थाले मुद्दतीबाहेक अन्य निक्षेप योजनामा बचत गर्ने ग्राहकहरुले पनि लाभ पाउनेछन् । वित्तीय क्षेत्रमा तरलता बढेको र ऋणको माग कम भएकाले बैंकहरुले कर्जा र निक्षेपमा ब्याजदर घटाउँदै लगेका छन् ।
साधरणतः मुद्रास्फिति भन्दा निक्षेपको ब्याजदर केही माथि राख्न सक्दा बचतकर्तामाथि न्याय हुने मान्यता छ । अहिले उपभोक्ता मुद्रास्फित ३.७९ प्रतिशत छ । साधरण बचतका योजनाहरुमा अहिले ब्याजदर मुद्रास्फितिभन्दा न्यून भएको परिप्रेक्ष्यमा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् यो व्यवस्था गरेको हो ।
मौद्रिक नीतिको समीक्षा गर्दै गभर्नर महाप्रसाद अधिकारीले दशैंपछि क्रमशः अर्थतन्त्र पुनरुत्थानको क्रममा अघि बढेको उल्लेख गर्दै आर्थिक वर्ष सुरु भएयता (साउनदेखि मंसीर १७ सम्म) बैंकहरुको निक्षेप संकलन २ खर्ब १९ अर्ब रुपैँया र कर्जा २ खर्ब २ अर्ब रुपैँया पुगेको बताए ।
‘वित्तिय क्षेत्रमा अधिक तरलताको अवस्था अब धेरै लामो समय रहँदैन,’ उनले भने, ‘यहि प्रवृत्तिले कर्जाको माग भयो भने दोस्रो त्रैमासपछि तरलतामा चाप पर्न जाने देखिन्छ ।’ खासगरी लकडाउन र निषेधाज्ञाजस्ता महामारी नियन्त्रणका प्रशासनिक उपाय अबलम्बन गरिएका कारण निजी क्षेत्रबाट ऋणको माग नहुँदा वित्तिय क्षेत्रमा अधिक तरलता रहेकाले नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैँया रिभर्स रिपो र एक खर्ब २ अर्ब रुपैँया बोलकबोलमा आधारित निक्षेप संकलनमार्फत् तरलता प्रशोचन गरेको छ ।
गभर्नर अधिकारीले पुनकर्जा सुविधातर्फ बैंकहरुले राष्ट्र बैंकसँग लिने एक मुष्ट पुनःकर्जाका लागि असोज मसान्तसम्मको अवधि दिइएकोमा बैंकहरुको आवेदन मूल्यांकन गरी ५० अर्ब रुपैँया पुनकर्जा प्रदान गर्न सम्झौता भैसकेको बताए । त्यस्तै, व्यक्तिगत रुपमा माग भएका पुनःकर्जातर्फबाट १६ अर्ब रुपैँया पुनःकर्जा सुविधा स्वीकृत भएको बताए ।
उनका अनुसार देशभर ४१ हजार ग्राहकले पुनःकर्जा सुविधा लिएका छन् भने नेपाल सरकारको ब्याज सहुलियतमा आधारित कर्जा ४१ हजार ६ सय १८ ले प्राप्त गरेका छन् । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले गरेको वित्तीय सहजीकरणले अर्थतन्त्र पुनस्र्थापनामा महत्वपूर्ण भूमिका निर्वाह हुने भन्दै यस्ता सहजीकरणका कारण वित्तीय स्थायित्वमा खलल पुग्न नदिनेतर्फ पनि केन्द्रीय बैंक सचेत रहेको उल्लेख गरे ।
यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा ऋण लिएका ऋणीहरुको वैदेशिक मुद्रा प्राप्तिको स्रोत सुकेको अवस्थामा नेपाली रुपैँयामै पनि ऋणको किस्ता तिर्न सकिने प्रबन्ध गरिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा गभर्नर अधिकारीले ६ महिना यताको मात्र साँवा ब्याज भुक्तानी नभएको अवस्थामा ऋणीको धितो लिलामी गर्न नपाइने व्यवस्था गरेको बताए । यसका अतिरिक्त ओभरड्राफ्ट र सेयर धितो कर्जामा भने कडाइँ गरिने समीक्षामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया