अर्थ / बाणिज्य

शंकर शर्मालाई अमेरिकाबाट बोलाएर किन धोका दिए प्रधानमन्त्रीले ?

इकागज |
साउन १३, २०७८ बुधबार १४:२६ बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि पूर्व उपाध्यक्ष डा. शंकर शर्मालाई नियुक्त गर्ने भन्दै उनलाई बोलाउन मुख्यसचिव शंकरदास वैरागीलाई निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशनपछि वैरागीले शर्मालाई सम्पर्क गरेर प्रधानमन्त्रीको सन्देश सुनाए । शर्मा आफ्नो पारिवारिक भ्रमणका क्रममा अमेरिकामा थिए । उनले मुख्यसचिवलाई आफूले यसअघि पनि विभिन्न अवसर पाइसकेकाले नयाँ व्यक्तिलाई अवसर दिन उपयुक्त हुने सुझाव दिए । तर प्रधानमन्त्रीले जनस्वास्थ्य संकट र आर्थिक संकट अहिलेका मुख्य चुनौती रहेकाले राष्ट्रिय योजना आयोगमा अर्थमन्त्रीसँग पनि समन्वय गरेर काम गर्न सक्ने वरिष्ठ व्यक्ति नै चाहिन्छ भनेर मुख्यसचिवलाई उनलाई बोलाउन अह्राए । 


राष्ट्रिय योजना आयोगमा कार्यकारी भूमिका पनि नहुने र खासै हस्तक्षेप गर्न नसकिने बुझाइमा रहेका शर्मा अमेरिकामा हुँदा यताबाट पुनः प्रधानमन्त्रीको सन्देश गयो । प्रधानमन्त्रीबाट खोजी भएपछि त्यसको संवेदनशीलतालाई मध्यनजर गर्दै शर्माले मुख्यसचिव वैरागीलाई आफू फर्कन लागेको जानकारी दिए र भ्रमण छोट्याएर नेपाल फर्के ।

शर्मा फर्केकै दिन मंगलबार मन्त्रिपरिषद् बैठकले युवा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गर्‍यो । कुनै दौडमा नरहेका र खासै रूचि नै नदेखाएका शर्मालाई बोलाउन लगाएर प्रधानमन्त्री देउवाले किन घात गरे त ? बालुवाटारमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दाह्री र सारीहरूको चर्चा खुबै सुनिन्थ्यो । देउवाको पछिल्लो निर्णयले उनी यस्तै प्रभावमा रहेको धेरैले लख काटेका छन् । पौडेल युलेन्स स्कुलको बोर्ड अफ ट्रष्टीजमध्येका एक ट्रष्टी समेत हुन् ।  उनले यसअघिका अर्थमन्त्री विष्णु पौडेलका अघोषित सल्लाहकारका रूपमा काम गरेको जानकारहरू बताउँछन् । पौडेल आफू कुनै दलनिकट नभएको र व्यावसायिक अर्थशास्त्री भएको बताउने गर्छन् । पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्ध अधिनायकवादी शासन चलाइरहँदा पौडेलले दिएको एक अन्तर्वार्तामा ‘प्रजातन्त्र विलासिता हो’ भन्ने अभिव्यक्ति निकै विवादीत भएको थियो । 

                     पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा नार्कको बजेटबारे प्रिन्ट मिस्टेक भएको स्पष्टीकरण

शर्मालाई बोलाएर घात गरेपछि अहिले बालुवाटारले एउटा न्यारेटीभ तयार गरेको छ– 'प्रधानमन्त्रीले गठबन्धनमा छलफल गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालले मानेनन् ।' तर दाहाल निकट स्रोतले भने आयोगको उपाध्यक्षको नाममा दाहालले कुनै टिप्पणी नगरेको बताएको छ । 

उपाध्यक्ष बनेपछि पौडेल आफैं पनि अचम्मित भएका छन् । अघिल्लो दिनमात्रै उनले आफ्ना निकटस्थलाई ‘शंकरजीको नाम गएछ, मेरो भएन’ भनेका थिए । उपाध्यक्षका लागि लविङमा रहेका आयोगका पूर्व सदस्य डा. प्रभु बुढाथोकीलाई पनि प्रधानमन्त्री देउवाले ‘मलाई तिमीभन्दा सिनियर व्यक्ति चाहिएको छ’ भनेका थिए । शर्मालाई अहिले बालुवाटारले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा समेट्न खोजेको बताइएको छ ।  

यो पनि पढ्नुहोस् :
राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्रीको रोजाई शंकर शर्मा, क्याम्प–क्याम्पबाट अन्य पनि लबिङमा


Author

थप समाचार
x