अर्थ / बाणिज्य

विद्युत् विकास र सिंचाइ विभागका महानिर्देशकहरू परिवर्तन

विद्युत्‌मा देव, सिंचाइमा आचार्य

इकागज |
साउन १९, २०७८ मगलवार १६:३७ बजे

काठमाडौं- ऊर्जा मन्त्री पम्फा भुसालले विद्युत् विकास विभाग र सिंचाइ विभागका महानिर्देशकहरु परिवर्तन गरेकी छिन् । विद्युत् विकास विभागका महानिर्देशक नविन राज सिंहलाई जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेर उनको ठाउँमा आयोगका सहसचिव सन्दीप देवलाई ल्याइएको छ । 

त्यसैगरी सिंचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई सिंचाइ मन्त्रालयमा ल्याएर उनको ठाउँमा मन्त्री भुसालले सुनकोसी मरिन डाइभर्सन आयोजनाका सुुशील आचार्यलाई नियुक्त गरेकी छिन् ।


सिंहले कोभिड–१९ ले थला परेको निजी जलविद्युत् प्रवद्र्धकहरुलाई राहत दिलाएका थिए । उनले कोरोनाका बिरामीलाई देशभर अक्सिजनको हाहाकार भइरहेका बेला निजी जलविद्युत् आयोजनाहरुले प्रयोग गरिरहेका सिलिण्डर संकलन गरेर मुलुकभर वितरण गरिदिएका थिए ।

अघिल्लो साता विभागको वार्षिकोत्सवमा आयोजित कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विभाग र सिंहको खुलेर प्रशंसा गरेका थिए । विशेष गरेर सिंहले फाइल नरोक्ने र सल्टाएर पठाउन विभागमा रहेको बोर्डमै सूचना लेखेका थिए । 

यसैगरी सिंचाइ विभागका महानिर्देशक राजभण्डारीले विभागमा एक वर्ष ११ महिना महानिर्देशकको रुपमा काम गर्दा दूरगामी महत्वका राष्ट्रिय आयोजनाहरुलाई अगाडि बढाए । उनले विशेष गरी पानी भएको ठाउँबाट पानी नभएको ठाउँमा पथान्तरणजन्य र बहुउद्देश्यीय सिंचाइ आयोजनाहरुलाई अगाडि बढाए । राजभण्डारीले सुनकोसी–मरिन डाइभर्सनलाई उद्घाट्नयोग्य अवस्थामा तुल्याए भने कालीगण्डकी–तिनाउ डाइभर्सनलाई राष्ट्रिय चर्चामा ल्याइदिए । 

मुलुकको जलस्रोत र जलविद्युत् क्षेत्रमा सिंह र राजभण्डारी उच्च बौद्धिक चेतनायुक्त सहसचिवको गणनामा पर्छन् । भारतसित जलस्रोत र जलविद्युत्को वार्ता (नेगोसियसन) मा सिंह र राजभण्डारी दुवैले आफ्नो राष्ट्रवादी अडान कायम राख्दै आएका छन् । नवनियुक्त महानिर्देशकहरु देव र आचार्य पनि अब्बल र सक्षम मानिन्छन् ।  


Author

थप समाचार
x