अर्थ / बाणिज्य

सरकारले खटाएको ठाउँमा गएर काम गर्न तयार छु : हितेन्द्र देव शाक्य

इकागज |
साउन २०, २०७८ बुधबार १७:३९ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाए पनि जान तयार रहेको बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि  जान तयार रहेको बताएका हुन् ।

उनले आफू प्राविधिक क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताए ।  ‘मलाई अब अरु कुनै जिम्मेवारीहरु दिन सकिन्छ कि भनेर सोध्नु भएको हो । मैले चाहिं मेरो आवश्यकता महशुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार भन्या छु' उनले भने, 'टेक्निकल मेरो फिल्ड हो। प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’


कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोभिड संक्रमणका कारण लकडाउन भएको भए पनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्षभन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उनको दाबी छ। अस्पतालहरुमा सबै समय विद्युतको उपलब्धताको बस्दोबस्त मिलाएको पनि उनले बताए ।

यसबीचमा ढल्केबर ४०० केभी सवस्टेशनलाई नेपाल-भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको कामलाई अगाडि बढाएको, थप १३ जिल्लामा  पूर्ण विद्युतीकरण गरिएको, कर्णालीमा पहिलोपटक  ग्रीडको विद्युत पुर्‍याएको उनको भनाइ छ ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन समस्या उनको भनाइ छ । उनका अनुसार अहिले १ दशमलव ६ प्रतिशत विद्युत चुहावट बढेको छ ।  


Author

थप समाचार
x