अर्थ / बाणिज्य

आर्थिक पत्रकारिता हाते किताब प्रकाशित

इकागज |
साउन २१, २०७८ बिहीबार ६:५० बजे

काठमाडौँ- नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारिता सम्बन्धी हाते किताब प्रकाशित गरेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको सेजनले जनाएको छ । एक कार्यक्रमबीच बुधबार साँझ अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरेका हुन् । 

आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको पुस्तक १४ अध्यायमा विभाजन गरिएको छ  । जसमा अध्याय एकदेखि सातसम्म आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति र यसका उपकरण, ऋणपत्र बजारको रिपोर्टिङ्, बीमा क्षेत्र, संघीयता र अर्थतन्त्र राखिएको छ । त्यस्तै अध्याय आठदेखि १४ सम्म पूर्वधार निर्माण, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, निजी क्षेत्रको रिपोर्टिङ, श्रम सम्वन्धी रिपोर्टिङ, भ्रष्टाचार सम्वन्धी रिपोर्टिङ्, आर्थिक पत्रकारितामा अंक र आर्थिक पत्रकारितामा आचारसंहिता राखिएको छ । 


विश्व बैंकको सहयोगमा प्रकाशन गरिएको यो पुस्तक आर्थिक विषयवस्तु सहज बनाउनुका साथै सैद्धान्तिक पक्षसँगै उदाहरण तथा पत्रकारले बुझ्नुपर्ने मुद्दा र प्रश्नहरू समावेश गरिएको छ । पुस्तक तयार पार्नको लागि अर्थ तथा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तिहरू प्रेम खनाल, हरिबहादुर थापा, सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्य, सेजन अध्यक्ष भीम गौतम र पत्रकार यज्ञ बन्जाडे पुस्तक लेखनमा सहभागी रहेको सेजनले जनाएको छ । पुस्तकको सम्पादन सुदीप श्रेष्ठले गरेका हुन् । 

पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले पुस्तक अर्थतन्त्र विषयमा जानकारी लिनको लागि उपयोगी हुने बताए । यसले आर्थिक पत्रकारका लागि आधारभूत ज्ञान प्रदान गर्ने हुँदा आर्थिक पत्रकारिता विधा थप परिष्कृत हुने अपेक्षा रहेको उल्लेख गरे । ‘आर्थिक क्षेत्रमा काम गर्ने र रुचि राख्ने सबैलाई यो पुस्तक निकै उपयोगी हुन्छ’ शर्माले भने । उनले पुस्तकमा सैद्धान्तिक पक्षहरुका साथै अर्थ पत्रकारिताको आचारसंहिता समेत बनाएको कारण मर्यादित पत्रकारितामा सहयोग पुर्‍याउने बताए । 
त्यस्तै, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थपत्रकारिताको विकासको लागि पुस्तक महत्पूर्ण भएको बताए । उनले अर्थ र वित्त क्षेत्रमा कलम चलाउन रुची राख्नेको लागि उपयोगी हुने उल्लेख गरे । 

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले अर्थका विषयमा कम जानकारी भएको कारणले पनि अझै पनि अर्थतन्त्रका विषयले सञ्चार माध्येममा कम ‘स्पेस’ पाएको भन्दै अर्थ पत्रकारिताको महत्व बढाउन पनि पुस्तक उपयोगी हुने धारणा राखे ।  उनले यो पुस्तक पत्रकार, पत्रकारिताको विद्यार्थी, तथा अध्येताहरूको लागि सहयोगी हुनेमा जोड दिए । 

पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपाल आर्थिक पत्रकार समाज सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थपत्रकारितको लागि पुस्तक कोशेढुंगा हुने उल्लेख गरेका छन् । उनले अहिले पत्रकारिता एउटा बीटमा केन्द्रित हुदैँ गएको अवस्थामा अर्थका सबै विषयमा जानकारी गराउनको लागि पुस्तक उपयोगी हुने बताए । यो पुस्तक अर्थ बीटमा काम गर्ने पत्रकारलाई मात्रै नभइ डेस्क एडिटरका साथै सम्पादकहरुले पनि पढ्न जरूरी रहेको उनको भनाइ थियो । 

लेखक प्रेम खनालले लामो समयको प्रयासपछि यो पुस्तक निकालिएको बताउँदै उनले  आर्थिक पत्रकारितालाई सहज बनाउन सहयोग पुग्ने बताए । उनले अर्थपत्रकारको लागि ‘डाटा भिजुअलाइजेसन’ सम्बन्धी अर्को पुस्तक पनि आवश्यक पर्ने भन्दै भविष्यमा त्यस्ता पुस्तकमा पनि ध्यान दिन आग्रह गरे । सेजनका अध्यक्ष भीम गौतमले पुस्तक तयार पार्ने क्रममा हाल कायम रहेका नीतिगत, कानुनी र यसअन्तर्गतका प्रवधानलाई पुस्तक समेटिएको र आगामी दिनमा सरकारले ऐन नियम संशोधन गर्न सक्ने भएकाले पुस्तक पनि संशोधन गर्न आवश्यक हुन सक्ने उल्लेख गरे । सेजनले प्रकाशन गरेको उक्त हाते किताब संस्थागत रूपमा एक हजार रुपैयाँ र व्यक्तिगत रूप खरिद गर्नेलाई ५ सय रुपैयाँ मूल्य तोकिएको बताइएको छ । 
 


Author

थप समाचार
x