अर्थ / बाणिज्य

नयाँ बन्‍ने भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्रीको प्रतिबद्धता

इकागज |
साउन २१, २०७८ बिहीबार १४:५६ बजे

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले नयाँ भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका छन्। बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने प्रतिबद्धता जनाएका हुन् । 

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरूको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रूपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए ।  उनीहरूले शर्मा गृहमन्त्री हुँदा अपाङ्गतगा भएकाहरूको लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएका हुन् । उनले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोसिस भइरहेको जानकारी समेत दिए ।  



Author

थप समाचार
x