अर्थ / बाणिज्य

‘लघुवित्तको विसंगति समयमै नियन्त्रण नगरे स्थिति भयावह हुन्छ’

इकागज |
साउन २१, २०७८ बिहिवार १८:२२ बजे

काठमाडौँ– लघुवित्तमा बढ्दै गएको विसङ्गति र विचलन प्रति चिन्ता व्यक्त गर्दै लघुवित्तकर्मी र सरोकारवालाहरूलाई बेलैमा सचेत हुन विज्ञहरूले चेतावनी दिएका छन् । उनीहरूले गरीब तथा विपन्न समुदायका महिला बर्गमा वित्तीय पहुँच पुर्याएर गरिबी निवारणमा सघाउने र वेरोजगारी घटाउने मुख्य उद्देश्यका साथ करिब तीन दशक अघि शुरु भएको लघुवित्त प्रणाली पछिल्लो समय नाफामुखी भएको निष्कर्ष निकालेका छन् । पछिल्लो समय नाफालाई मुख्य उद्देश्य वनाएकै कारण लघुवित्त सेवा गरीब सम्म पुग्न नसकेकोे उनीहरूको बुझाई छ । साथै वढि भन्दा वढि नाफा कमाउने होडमा अनुचित अभ्यासहरू हुदै गएको र यसले मुख्यतः गरीबहरू कहिल्यै माथि उठ्न नसक्ने अवस्था सिर्जना भएको विज्ञहरूको धारणा छ । 

स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको ‘लघुवित्तमा देखिएको विचलन र यसको परिणाम’ विषयक छलफलका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । 
छलफललाई सम्वोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तको उद्देश्य गरिबी निवारण गर्ने र बेरोजगारी घटाउने भएको स्मरण गराए । ‘लघुवित्तको उद्देश्य के हो र यसमा कसरी विचलन आएको छ भन्ने बुझ्न सबै लघुवित्तले आफ्नो प्रबन्धपत्र पल्टाएर हेरे स्पष्ट हुन्छ,’ उनले भने, ‘सबैको प्रबन्धपत्रमा स्पष्ट लेखिएको छ की लघुवित्त मुख्यतयाः दुईवटा उद्देश्य गरिबी निवारण र रोजगारी सिर्जना गर्नको लागि हो । त्यो प्रवन्ध पत्र हरेक लघुवित्त संस्था र राष्ट्र बैंकको दराजमा थन्केर वसेको छ, सायद हामी कसैले एकपटक पनि खोलेर हेरेका छैनौँ ।’ 


 श्रेष्ठले अहिले लघुवित्त संस्था उद्देश्य अनुरूप विपन्न कहाँ पुग्न नसकेको बताए । ‘विपन्न भन्दा अहिले हामी सम्पन्न तीर उन्मुख भैराखेका छौँ, नाफा कमाउन सजिलो उपाय अपनाइरेका छौं,’ उनले भने  ‘विपन्नलाई उनको घरमा पुगेर ऋण लिने वनाउन कम्तिमा ६ महिना लाग्छ र गरिबी निवारणको उद्देश्य भएपनि त्यो कठिन बाटोमा हिंड्न कोही तयार छैन । तर एउटा गरीबको जीवनस्तर उकासेर प्राप्त हुने त्यो असिमित खुशीलाई महशुष गर्ने हो भने यस क्षेत्रमार्फत् राष्ट्रिय उद्देश्यमा टेवा पुर्‍याउन सकिन्छ ।’ 

उनले पूँजी प्रधान यो आर्थिक व्यवस्थाले असमानता पैदा गरेकोले अव सामाजिक उत्तरदायित्व सहितको सामाजिक व्यवसायमा जोड दिनु पर्ने बहस उठेको उल्लेख गरे । सामाजिक व्यवसायको अवधारणा नोबेल पुरस्कार बिजेता प्राध्यापक मोहम्मद यूनुसले पनि यही अवधारणा अघि सारेका हुन् । उनको विचारमा लघुवित्त सामाजिक व्यवसाय हो । यो सामाजिक परिवर्तनको लागि ल्याएको हो । 

विकट हिमाली र पहाडी जिल्लाहरूका अतिरिक्त तराईका केहि जिल्लाहरूमा अझै पनि धेरै गरिबी रहेको भन्दै उनले लघुवित्त संस्थाको मुनाफाको दुई प्रतिशत मात्र पनि गरीबी निवारणमा लगाउनुपर्नेमा जोड दिए । उनका अनुसार, लघुवित्त र सहकारी संस्थाहरू गणना गर्दा एउटा संस्थाको भागमा ५ - ६ हजार गरीब पर्छन र एउटा कर्मचारीको भागमा ६० जना पर्छ । 

‘अबको ५ वर्षमा लघुवित्तकर्मीले आफ्नो भागमा पर्ने त्यो ६० जनालाई धनी बनाउन सक्छन्, तर उनीहरूमा त्यो इच्छाशक्ति छैन,’ उनले भने,  ‘छाप्रोमा वसको वेरोजगार , दुई छाक खान संघर्ष गर्नुपर्ने परिवार सजिलै देखिन्छ । यसको लागि राष्ट्र बैंकले वा सरकाले निर्देशन दिनु पर्दैन । यस्ता गरीबलाई समेटेर काम गर्नु नै लघुवित्तको मर्म, धर्म र कर्म हो ।’ 

छलफलमा सहभागीले पछिल्लो समय लघुवित्तमा कर्जाको दोहोरोपना, अनुत्पादक क्षेत्रमा घुमाउरो लगानी लगायतका कारणले खराब कर्जाको अनुपात बढ्दै गएको र अन्ततः स्थिति भयावह हुने बताए । यद्यपि अहिले भाखा नाघेको कर्जा घटाउन र नाफा वढाउन कर्जा नवीकरण र थप ऋण प्रवाह गरी अवस्था राम्रो देखाउने प्रत्युत्पादक प्रचलन देखिएको उनीहरूको भनाइ थियो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक, लघुवित्त निरीक्षण विभागका निर्देशक राम प्रसाद गौतमले समय अनुसार लघुवित्त सेवा प्रवाहमा केहि परिमार्जन हुनु स्वभाविक भए पनि अझै पनि एक सय २० वटा स्थानीय तहमा मात्रै लघुवित्त सेवा पुगेको र ग्रामीण भेगका अति विपन्न वर्गमा पुग्न नसकेको बताए । 

‘नेपाल राष्ट्र बैकले नीजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको हुदाँ लघुवित्त संस्थाहरू आफ्नो लक्ष र उद्देश्य अनुसार स्व–नियन्त्रित र स्व–अनुशासित भएर अघि बढ्नु उचित हुन्छ,’ उनले भने,  ‘त्यसो हुन नसकेको खण्डमा राष्ट्र बैकंले हस्तक्षेप गर्नु पर्ने अवस्था आउँछ ।’ उनले लघुवित्तहरू धेरै नाफामुखी भए भन्ने गुनासो आएको बताए । यसैकारण मौद्रिक नीति नपर्खीकनै तत्कालै परिपत्र जारी गरी २० प्रतिशत भन्दा बढी मुनाफा बाँड्न नपाउने व्यवस्था गरिएको उनको भनाइ थियो । 

लघुवित्तले विगतमा २४ प्रतिशत ब्याजदर तय गर्थे अहिले १५ प्रतिशत भन्दा वढी लिन नपाउने व्यवस्था छ । यद्यपि पछिल्लो समय कर्जाको गुणस्तर खस्कदैं गएकाले सहि ठाउँमा लगानी नभएको, कर्जाका दोहोरोपना/तेहरोपनाको गुनासो आइरहेको उनले बताए । 

अन्तर्क्रिया कार्यक्रममा बोल्दै सानिमा बैंक लिमिडका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एशोशिएसनका अध्यक्ष भुवन दाहालले लघुवित्तहरू नाफामुखी भएको देखिएको वताए । ‘सेवाभावले र गरीबी निवारण गर्ने उद्देश्यले स्थापना भएका लघुवित्तको प्रतिफल ३०–४० प्रतिशत हुनु आफैंमा अमिल्दो छ,’ दाहालले भने । 
कार्यक्रमका अर्का वक्ता नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष एवं विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघुवित्तको लक्ष र उद्देश्य पनि समय अनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकले दुर्गममा गएर गरिबी निवारणका लागि काम गर पनि भन्ने साथै फेरि ब्याजदरमा पनि क्याप लगाउने नीति विरोधाभाषपूर्ण भएको उनको भनाइ थियो । उनले लघुवित्त संस्थाहरूले आक्रामक कर्जा विस्तार गरेर जोखिम बढाएको भने स्वीकार गरे । छलफलमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहीतले लघुवित्तमा केही विकृतिहरू आएको स्वीकार गर्दै सबै संस्थालाई एकै डालोमा राखेर दृष्टिकोण बनाउन नहुने बताए । 

‘अहिले पनि लघुवित्तको लगानीको ठूलो हिस्सा धेरै विपन्न वर्गमै छ । केही लगानी नव धनाढ्यहरूले आफ्नो स्वार्थ अनुरूप अनुत्पादक क्षेत्रमा लगाएका छन् र यो नै मुख्य समस्या बनेको छ,’ उनले भने ।  अहिले लक्षित समूह गठन गर्ने, सदस्य पहिचान गर्ने लघुवित्तका प्रचलित र महत्वपूर्ण विधिहरूलाई वेवास्ता गर्ने साथै कर्जा विश्लेषण र कर्जा सदुपयोगितामा ध्यान नदिएकाले कर्जाको गुणस्तर खस्किएको उनको धारणा थियो । 

त्यस्तै, आरएमडीसी (ग्रामीण लघुवित्त विकास केन्द्र) का निमित्त प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापाले गरीबी निवारणको उद्देश्मा स्थापित लघुवित्तको मूल्य, मान्यता र सिद्धान्तलाई धुमिल्याउने काम क्रमशः सच्याउँदै जानुपर्ने सबै सरोकारवालाको दायित्व भएको बताए । 


Author

थप समाचार
x