अर्थ / बाणिज्य

माथिल्लो तामाकोसीको बिजुली सिधै काठमाडौंमा, तर पूरै होइन

इकागज |
साउन २४, २०७८ आइतबार १३:३६ बजे

काठमाडौँ- देशकै सबैभन्दा ठूलो नवनिर्मित माथिल्लो तामाकोसीले उत्पादन गर्ने बिजुलीमध्ये ९० मेगावाटसम्म सिधै काठमाडौं ल्याउन सकिने भएको छ । रामेछापको फुलासीस्थित न्यून खिम्ती सवस्टेशनको २२०/१३२ केभीको ट्रान्सफरभर आज आइतबारबाट चार्ज भई काठमाडौंमा बिजुली पठाइएको अप्पर तामाकोसी हाइड्रोपवार लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । 

ढल्केबरपछि यो देशकै ठूलो २२० केभीको सवस्टेशन हो । कुश्मा दाना पनि २२० केभीको भए पनि त्यसलाई १३२ केभीमा झारिएको छ । न्यू खिम्तीमा भने चारवटा पावर ट्रान्सफरमर राखिएका छन् । तीमध्ये तीनवटा सञ्चालनमा र एउटा जगेडामा राखिएको छ । 


नेपाल विद्युत् प्राधिकरणले खिम्ती जलविद्युत् आयोजनाले प्रसारण गर्ने लाइनबाट (१३२ केभी) बाट माथिल्लो तामाकोसीको बिजुली काठमाडौं पठाएको हो । खिम्तीदेखि लामोसाँगु ४६ किलोमिटर र लामोसाँगुदेखि काठमाडौंसम्म ९६ किलोमिटर १३२ केभीको यो लाइन प्राधिकरणले खिम्तीका लागि बनाइदिएको थियो । 

इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तरसमेत गरेका सीइओ श्रेष्ठका अनुसार यो प्रसारण लाइनले सय मेगावाटभन्दा बढी बिजुली बोक्न सक्दैन । खिम्तीले कम उत्पादन गरेको बेला वा हिउँदयाममा भने माथिल्लो तामाकोसीको बिजुली ९० मेगावाटसम्म प्रवाह हुन सक्छ । 

४५६ मेगावाटको माथिल्लो तामाकोसीको बाँकी बिजुली खिम्ती-ढल्केबर २२० केभीको प्रसारण लाइन हुँदै ढल्केबर पुग्छ । हिउँदयाममा खिम्तीको बिजुली उत्पादन घटेर २० मेगावाटसम्म झर्ने गरेको बेला मात्रै तामाकोसीले ९० मेगावाटसम्म यो लाइनबाट बिजुली पठाउन सक्छ । बर्खायाममा खिम्तीले पनि पूर्ण क्षमता ६० मेगावाटकै उत्पादन गर्छ । उसको बिजुली प्राधिकरणले नलिए पनि डलरमै (गत वर्षसम्म) भुक्तानी गर्नुपर्ने सम्झौता छ । 

उत्पादित बिजुली पूर्ण रुपमा प्रवाह गर्न नसकिने यो समस्या देशैभरको हो । एसियाली विकास बैंकको सहयोगमा ४०० केभीको अर्काे प्रसारण लाइन निर्माण हुँदैछ । यो निर्माण भएमा एमसीसीले बनाउने भनिएको लप्सीफेदीमा ल्याएर जोड्ने योजना छ । तर एमसीसी आफैमा अन्यौल छ । 

भारतको केइसी इन्टरनेशनल कम्पनीले न्यू खिम्तीको सवस्टेश सन् २०१३ मा निर्माण गर्ने ठेक्का पाएको हो । एक करोड ७९ लाख अमेरिकी डलर र ५३ करोड ४५ लाख नेपाली रुपैयाँमा उसले ठेक्का लिएको थियो । याे रकममा प्रसारण लाइन स‌ंरचनासमेत छ ।

माथिल्लो तामाकोसीले हालसम्म चारवटा युनिटबाट बिजुली उत्पादन सुरु गरिसकेको छ । यसमा ६ वटा युनिट छन् । प्रत्येक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन्छ । बाँकी दुई वटाको पनि छिट्टै परीक्षण उत्पादन गरी आगामी भदौ महिनाभित्र आयोजनाले पूर्ण व्यापारिक तवरबाट बिजुली उत्पादन गर्ने योजना रहेको श्रेष्ठले बताए ।  


Author

थप समाचार
x