स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधारमा सात अस्पतालहरू
काठमाडौँ– चीन सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा नेपालमा कोभिड १९को प्रतिकार्यमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीनको दक्षिण–दक्षिण सहयोग सहायता कोष (एसएससिएएफ) अन्र्तगत नयाँ कार्यक्रम सुुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागसँगको समन्वयमा यूएनडीपीले देशभरका सात कोभिड अस्पतालहरू; कोशी अस्पताल, विराटनगर; नारायणी अस्पताल, वीरगंज; जनकपुर अस्पताल, जनकपुरधाम; श्री वीरेन्द्र अस्पताल, छाउनी; राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर र भेरी अस्पताल, नेपालगन्जसँग मिलेर काम गर्ने बताइएको छ ।
यस संयुक्त कार्यक्रमले अटोक्लेभ लगायताका उपकरण जडानका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणालीको स्तरवृद्धि, उचित फोहोर व्यवस्थापनको क्षेत्रहरूको स्थापना, र त्यसको उचित प्रयोगको साथसाथै स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिने यूएनडीपीले जनाएको छ ।
‘यस कार्यक्रमले ३५० स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापनका लागि आवश्यक प्राविधिक क्षमता प्रदान गर्नुका साथै स्थानीय सरकारका १०० अधिकारीहरूलाई स्वास्थ्य आपतकालको उचित व्यवस्थापन सञ्चालन गर्नको लागी आवश्यक प्रशिक्षण पनि दिइनेछ,’ यूएनडीपीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न स्थानीय भाषामा जनचेतनामूलक सामग्री प्रकाशन–प्रशारण गरेर स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा नागरिककोे चेतना र तयारीमा सुधार गर्ने लक्ष्यका साथ जनचेतना जगाउन एक अनलाइन अभियान सञ्चालन गरी शहरी तथा ग्रामीण नगरपालिकाहरूबाट ३०० युवा स्वयंसेवकहरूलाई परिचालन गरिनेछ ।’
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस परियोजनाबाट नेपाललाई फाइदा हुने भन्दै महामारीको कालो बादल अब छिट्टै हट्ने आशा व्यक्त गरिन् । यो काय्रक्रम दक्षिण–दक्षिण सहयोग सहायता कोषको एशिया र प्रशान्त क्षेत्रीय परियोजनाको हिस्सा हो जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १० लाखभन्दा धेरै मानिसहरू लाभान्वित हुने बताइएको छ ।
“कसरी स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चाइना एडसँग त्रिपक्षीय सम्झौता गर्नसक्नु यूएनडीपीका लागि एउटा अवसर हो,’ यूएनडीपी नेपालका आवासिय प्रतिनिधि आइसानी मेडागान्गोडा–लाबेले भनिन्, ‘नेपाल बाहेक, फिलिपिन्स, म्यानमार, कम्बोडिया र लाओसमा पनि यूएनडीपी र चाइनाएडद्वारा यस्तै पहलहरूको सुरुवात गरिएको छ ।’
यस परियोजनाले नेपाललाई दीगो विकास लक्ष्यहरू अन्तर्गतका महत्वाकांक्षी उद्देश्यहरू पूरा गर्न मद्दत गर्नेछ भने जलवायु परिवर्तनमा गरिएको पेरिस सम्झौतामा उल्लेख भए अनुसार फोहोर व्यवस्थापन, कार्बन उत्सर्जन कटौती समर्थन लगाएत हालसालै अद्यावधिक गरिएको राष्ट्रिय स्वेच्छिक योगदान (एनडिसी)लाई समेत सहयोग पुग्ने ठानिएको छ ।
नेपालले कम्तीमा १०० नगरपालिकाहरूमा फोहोर व्यवस्थापन, रिसाइकल र फोहोरबाट ऊर्जा उत्पादन गर्ने दश वर्षे कार्यक्रमका साथै साथै १,४०० स्वास्थ्य सुविधाहरूलाईस्वास्थ्यजन्य फोहोरको व्यवस्थापन सहित प्राविधिक सहायताले कार्यान्वयन गर्न लागेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया