अर्थ / बाणिज्य

सुदूरपश्चिमको अर्थतन्त्र : घरजग्गा कारोबार बढ्यो, औद्योगिक कर्जा २१.७१ प्रतिशत

इकागज |
साउन २६, २०७८ मगलवार १२:५२ बजे

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा प्रवाहित कुल कर्जामध्ये २१.७१ प्रतिशत औद्योगिक कर्जामा गएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको आर्थिक गितिविधि अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१६, विकास बैंकका ४४, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ३५६ गरी जम्मा ७२२ शाखा सञ्‍चालनमा छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३२५ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २२ शाखा सञ्‍चालनमा छन् ।

२०७७ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा ९.४१ प्रतिशतले वृद्धि भई ९१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत वर्षकोसोही अवधिमा यस्तो निक्षेप ४.२६ प्रतिशतले वृद्धि भएको थियो ।

२०७७ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७७ असार मसान्तको तुलनामा २४.९६ प्रतिशतले वृद्धि भई एक खर्ब १० अर्ब २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलालीको अंश सबैभन्दा बढी अर्थात ४८.८४ प्रतिशत छ । बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात २.२३ छ । अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.६२ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात ०.९४ प्रतिशत रहेको छ ।

पर्यटन
समीक्षा अवधिमा सुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा थप पर्यटकस्तरीय होटलहरु सञ्चालनमा आएको भएपनि डोटी र दार्चुला जिल्लामा केही पुराना होटलहरु बन्द भएकोले समग्र रुपमा होटल तथा लजको संख्यामा कुनै परिवर्तन आएको छैन । होटलको संख्यामा वृद्धि नभएतापनि होटल शय्याको संख्या भने ४.५६ प्रतिशतले वृद्धि भई १ हजार ५ सय १२ पुगेको छ ।

पर्यटकस्तरीय होटल तथा लजमा प्रत्यक्ष रोजगारी संख्या गत आवको सोही अवधिको भन्दा २८.५९ प्रतिशतले ह्रास भई ४ सय ४२ रहेको छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र सहज रुपमा चलायमान हुन नसक्दा होटल तथा लजहरुले कर्मचारीको संख्यामा कटौती गरेका कारण यो संख्यामा उल्लेख्य ह्रास आउन गएको प्रतिवेदनमा उल्लेख छ ।

रियल स्टेट कारोबार वृद्धि
समीक्षा अवधिमा समग्र घर जग्गा रजिष्ट्रेशन संख्या १०.४७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा सो संख्या ४.०७ प्रतिशतले वृद्धि भएको थियो । उक्त अवधिमा घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व संकलन ३६.५० प्रतिशतले वृद्धि भई ४७ करोड १६ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन २०.१३ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७/७८ को प्रथम छ महिनामा घर/भवन नक्सा पास संख्या २२.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा घर/ भवन नक्सा पास संख्या १.६९ प्रतिशतले बढेको थियो ।

यस वर्ष कोभिड-१९को असर कम हुदै जानु तथा लकडाउन हटेकाकारण आर्थिक क्रियाकलापहरू पुनः सुचारु भएकाले घरजग्गा रजिष्ट्रेसन संख्यामा उल्लेखनीय वृद्धि भएको हो । समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा रहेका जिल्लाहरु मध्ये कञ्चनपुर जिल्लामा घर/भवन नक्सा पासमा ह्रास आएको छ भने बाजुरा जिल्लामा एउटा पनि घर/भवन नक्सा पास नभएकोर अन्य सबै जिल्लाहरुमा नक्सा पास संख्यामा वृद्धि भएको छ ।

कोभिड–१९ का कारण बन्दाबन्दीको अवस्थाबाट यस आर्थिक वर्षमा आर्थिक क्रियाकलापहरू सुचारु हुनुका साथै पहाडी जिल्लाहरुमा कर्जा लगायतका प्रयोजनका लागि घर नक्सा पास गर्ने प्रचलन बढेका कारण नक्सा पास संख्यामा उल्लेख वृद्धि भएको हो । बाजुरा जिल्लामा नक्सा पास गर्ने प्रचलन विगतमा नरहेकोले यस वर्ष समेत नक्सा पासको संख्या शुन्य छ ।



Author

थप समाचार
x