अर्थ / बाणिज्य

सीएनआईले ‘मेक इन नेपाल अभियान’ को श्रेय उपाध्यक्ष पौडेललाई दियो, कार्यान्वयनमा सहयोग हुने आशा

इकागज |
साउन २७, २०७८ बुधवार १३:४८ बजे

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका डा. विश्वनाथ पौडेललाई नेपाल उद्योग परिसंघ (सीएनआई) ले सम्मान गर्दै ‘मेक इन नेपाल अभियान’ को श्रेय दिएको छ । योजना आयोगको उपाध्यक्ष बन्नुअघि पौडेलले सीएनआईको परामर्शदाताका रूपमा यो अभियान शुरु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

सम्मान कार्यक्रममा पौडेलले औद्योगिकरणका सम्भावनाबारे बोल्दै नेपाली उत्पादनमूलक उद्योगहरूलाई सस्तोमा वस्तु उत्पादन गर्न सक्नेगरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । 


‘उद्यमीले सस्तोमा उत्पादन गर्न नसके उनीहरूले प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्दैनन्,’ पौडेललाई उद्धृत गर्दै सीएनआईले भनेको छ, ‘सरकारले सहज व्यवसायका लागि नियामकीय दायरा खुला बनाइ खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नुपर्छ ।’ 

पौडेलले उत्पादनमूलक क्षेत्रको विकास नभइ सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने धारणा राख्दै उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले नीति तथा कानुनहरूमा एकरूपता र नयाँ सोचलाई समावेश गर्ने बताए । 

पौडेलले श्वेतपत्रमार्फत् अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको यथार्थ विवरण सार्वजनिक गरिएको बताए । उनले सरकारको चालु खर्च उच्च रहेको उल्लेख गर्दै पुँजीगत खर्च पनि सोही अनुपातमा वृद्धि गर्दै जानुपर्ने धारणा राखेका छन् । 

उपाध्यक्ष पौडेललाई सम्मान गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताए । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न ‘मेक इन नेपाल : स्वदेशी अभियान’ सञ्चालन गरेको भन्दै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने महत्वपूर्ण श्रेय उपाध्यक्ष पौडेललाई जाने बताए । 

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू, गभर्निङ काउन्सिलका सदस्यहरू र विभिन्न काउन्सिलका नेतृत्व गर्ने राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति थिए । 


Author

थप समाचार
x