अर्थ / बाणिज्य

बुढी गण्डकीसहितका जलाशययुक्त आयोजना अघि बढाउँदै छौँ : मन्त्री भुसाल

इकागज |
साउन २७, २०७८ बुधबार १८:२७ बजे

काठमाडौँ -  सरकारले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू अघि बढाउने भएको छ ।  बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू अघि बढाउने जानकारी दिएकी हुन् । उनले प्रदेश नं. १ मा दुधकोशी र तमोर आयोजना अघि बढाउन लागेको बताइन् । त्यस्तै प्रदेश नं. २ मा ऊर्जाबाट विद्युत उत्पादन तयारी गरिएको, बागमतीमा कुलेखानी र सुनकोसी – ३, गण्डकी प्रदेशमा बुढीगण्डकी, लुम्बिनी प्रदेशमा नौमुरे, माडी, कर्णालीमा नलगाड र सुदुरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडि बढाउने उनको भनाइ छ । 

त्यसैगरी निर्माणाधिन आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रबाट निर्माणाधिन आयोजनाहरू छिटो सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र अनुगमनको कार्यलाई प्रभावकारी बनाउने, निर्माणाधिन प्रसारण लाइनहरू तोकिएको समयमा सम्पन्न गर्न आवश्यक संयन्त्र बनाएर अनुगमनको कामलाई अगाडि बढाएर समयमै त्यसलाई सम्पन्न गर्ने र समयमै गुणस्तरीय काम गर्नेलाई पुरस्कार तथा नगर्नेलाई दण्ड गर्ने आगामी कार्ययोजना रहेको पनि बताइन् ।


मन्त्री भुसालले कालीगण्डकी, मर्स्याङ्दी, कोसी, दोर्दी, चिलिमे, खिम्ति–काठमाडौं, मर्स्याङ्दी–काठमाडौं आदी करिडोरका प्रशारण लाइनहरू सम्पन्‍न गर्ने, इनरुवा–ढल्केवर–हेटौँडा ४०० केभी लाइनलाई निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेति कोरिडोर, कोसि कोरिडोरको ४०० केभि प्रसारण लाइनहरू निर्माणका लागि अगाडी बढाउने पनि बताइन्।

त्यस्तै सबै जिल्लामा २ वर्षभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने योजना रहेकाे उनको भनाइ छ । मन्त्रालयले आगामी दिनमा वितरण लाइन तथा सबस्टेशनहरूको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तरलाई सुधार गर्ने, सहरी क्षेत्रको विद्युतिकरणलाई भूमिगत गर्ने र विस्तार गर्ने, देशभर स्मार्ट मिटर जडानलाई विस्तार गर्ने, सब-स्टेशनलाई अटोमेशन गर्ने, चोरी तथा चुहावट नियन्त्रणलाई प्रभावकारी ढंगले अगाडि बढाउने जनाएको छ । हाल १६.९३ प्रतिशत चुहावट छ त्यसलाई १४ प्रतिशतमा झार्ने कार्यक्रम अघि सारेको पनि मन्त्री भुसालको भनाइ छ ।  


Author

थप समाचार
x