अर्थ / बाणिज्य

गण्डकी सरकारले बढायो सवारी साधनको कर, मोटरसाइकलकै २० हजारसम्म

अनिष भट्टराई |
साउन २८, २०७८ बिहीबार ११:४६ बजे

पोखरा - गण्डकी प्रदेश सरकारले सवारी साधनको कर बढाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट (आर्थिक विधेयक) मार्फत सवारी साधनको कर बढाएको हो । विभिन्न सवारी साधनमा २ सयदेखि ४ हजार रुपैयाँसम्म कर बढाइएको हो । 

सबैभन्दा बढी मोटरसाइकल, स्कुटरमा कर बढाइएको छ । १२६ देखि २५० सिसीसम्मको मोटरसाइकल, स्कुटरमा ३ सय रुपैयाँ कर वृद्धि भएको छ । अघिल्लो वर्ष ४ हजार २ सय रहेको कर अहिले ४५ सय पुर्‍याइएको छ । २५१ देखि ४०० सिसीसम्मको मोटरसाइकलको कर ८ हजार ४ सयबाट बढाएर ९ हजार ५ सय पुर्‍याइएको छ । ४०१ सिसीमाथिका मोटरसाइकलमा सबैभन्दा बढी ४ हजार रुपैयाँ कर बढाइएको छ । गत वर्ष १६ हजार रुपैयाँ कर रहेको यस मोटरसाइकलको कर अहिले २० हजार पुगेको छ ।
कार, जिप, भ्यान, माइक्रो जस्ता सवारी साधनमा पनि कर वृद्धि भएको छ । १५०१ देखि २ हजार सिसीम्मका यी सवारीमा हजार रुपैयाँ कर बढेको छ । अब यी सवारी साधनको कर बापत सवारीधनीले २५ सय रुपैयाँ बुझाउनुपर्नेछ । २५ सय सिसीसम्मका सवारीमा ५००, २५ सयदेखि २९ सयसम्मका सवारीमा ५०० रुपैयाँ कर बढेको छ । २९०१ सिसीदेखि माथिका सवारीमा यसअघि कायम रहेको ५५ हजार ५ सय रुपैयाँ कर अहिले बढेर ५६ हजार पुगेको छ । 


डोजर, एक्साभेटर, ट्रिपर, क्रेनजस्ता सवारीमा पनि कर बढेको छ । गत आर्थिक वर्षमा ३६ हजार ५ सय रुपैयाँ कर रहेका यी सवारीको कर वृद्धि भई ४० हजार पुगेको छ । २६ हजार ५ सय रुपैयाँ कर रहेको मिनी ट्रिपरको कर ३५ सय रुपैयाँले बढेर ३० हजार पुर्‍याइएको आर्थिक विधेयकमा छ । 

भाडामा दर्ता भएका सवारी साधनहरुमा पनि आशिंक कर वृद्धि भएको छ । कार, जीप, भ्यान, माइक्रो बसमा १०० देखि ५०० रुपैयाँ कर बढेको हो । १३०० सिसीसम्मका सवारीको कर ८ हजार ५ सय पुर्‍याइएको छ । यो अघिल्लो वर्षको दरभन्दा १ सय रुपैयाँ बढी हो ।

यस्तै १३०१ देखि २ हजार सिसीसम्मका सवारीमा ९५०० रहेको कर बढाएर १० हजार पुगेको देखिन्छ । २००१ देखि २९ सय, २९०१ देखि ४ हजार सिसीसम्मका सवारीमा ५ सय रुपैयाँ कर बढेको छ । ४ हजार सिसीमाथिका सवारीमा भने २ सय रुपैयाँ कर बढेको छ । यस्तै ट्रकमा २ सय रुपैयाँ कर बढेको छ  भने बसको कर ८ सय रुपैयाँले घटेको छ । भाडामा दर्ता भएका बसको कर यसअघि १६ हजार ८ सय रहेकोमा अहिले १६ हजार कायम भएको हो । सवारी साधन कर बढाउने प्रदेशमा बागमती प्रदेश अघि छ । 

बागमतीले सबैभन्दा बढी कर बढाउँदा अन्य प्रदेशले पनि करमा वृद्धि गरेका छन् । गण्डकीमा अहिले २ लाखको हाराहारीमा मोटरसाइकल, स्कुटर छन् । यातायात व्यवस्था कार्यालय, गण्डकीका सूचना अधिकारी श्री अधिकारीका अनुसार प्रदेशभर ६० हजार बढी चार पाङ्ग्रे सवारी साधन छन् । तिनीहरुको दर्ता, नवीकरण, नामसारी जस्ता कामबाट कार्यालयले दैनिक ४० देखि ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यसअघिको वर्षमा भने जम्मा ९० करोड रुपैयाँ राजस्व संकलन भएको अधिकारीले जानकारी दिए । सवारीसाधन अनुमति पत्र कार्यालय गण्डकीले दिनमा ५ देखि १० लाखसम्म राजस्व संकलन गर्ने गरेको तथ्यांक कार्यालयको छ । 

भौतिक मन्त्रालय अन्तर्गतको प्रशासन तथा यातायात महाशाखाका उपसचिव टीकाराम पौडेल भने गण्डकीमा सबैभन्दा कम कर वृद्धि भएको दाबी गर्छन् । ‘सबैभन्दा कम दर गण्डकीमा हो, सस्तो कर रहेको कर्णाली र हाम्रो (गण्डकीको) हो । बागमती र अरु प्रदेशको भन्दा त निकै कम छ,’ उनले भने । 

सबैभन्दा बढी कर वृद्धिः
—मोटरसाइकल (४०१ सिसीमाथि): ४ हजार रुपैयाँ वृद्धि (गत वर्ष १६ हजार, अहिले २० हजार)
—डोजर, एक्साभेटर, ट्रिपर, केन, मिनी ट्रिपरः ३५ सय रुपैयाँ वृद्धि (गत वर्ष ३६ हजार ५ सय अहिले ४० हजार)
—कार, जिप, भ्यान, माइक्रो (१५०१ देखि २००० सिसीसम्म): १ हजार रुपैयाँ वृद्धि (पहिला २४  हजार अहिले २५ हजार)
—कार, जिप, भ्यान, माइक्रो (२५०१ देखि माथि सबै): १ हजार रुपैयाँ वृद्धिः(पहिला ३९ हजार अहिले ४० हजार )
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x