अर्थ / बाणिज्य

मौद्रिक नीति चुहाएकोमा अर्थमन्त्रीको असन्तुष्टि

इकागज |
साउन ३२, २०७८ सोमबार १७:३० बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्री शर्माले चुहिएको विषयलाई गम्भीर रूपमा लिन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् । 

मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह नगरेको उनले बताए । उनले टेबुल-टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य आइन्दा नगर्न सचेत गराए ।

‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोवल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस् ।’ उनले पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको उल्लेख गर्दै प्रवत्ता र कार्यालयको वेवसाइटमार्फत सूचना दिने व्यवस्था मिलाउन निर्देशन दिए । 

आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिकोबैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकका गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तन सम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले सुधारको लागि गर्नुपर्ने कामहरू संकटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरिएको स्पष्ट पारे । सीसीडी रेसियो संसारभरबाटै खारेज भइसकेको परिवेशमा राष्ट्र बैंकलेले हटाएको भन्दै उहाँले यस सम्बन्धी बजारमा केही भ्रम रहेकोले यसमा स्पष्ट हुन आग्रह गरे । विदेशी विनिमय नियमित गर्ने ऐन संशोधनको प्रक्रियामा रहेकोले त्यसलाई छिटो टुंगो लगाउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।



Author

थप समाचार
x