अर्थ / बाणिज्य

सात हवाई कम्पनीद्वारा झन्डै ५२ करोड कर छली

इकागज |
भदौ ६, २०७८ आइतबार २०:२४ बजे

काठमाडौँ - नेपालबाट विदेश उडान गर्ने हवाई कम्पनीहरूले कर छली गरेको पाइएको छ । सात हवाई कम्पनीले ५१ करोड ९८ लाख रुपैयाँ कर छली गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

नेपालबाट प्रस्थान हुने यात्रुको ओसार-पसार गर्दा पाँच प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा दुई प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।


पुतलीसडक आन्तरिक राजस्व कार्यालयमा दर्ता रहेका सात हवाई कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट उडान भर्दा प्राप्त तथ्यांकको आधारमा घटी कर दाखिला गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले ५१ करोड ९८ लाख ८९ हजार र त्यसमा लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्नुपर्ने बताएको छ ।

मलेसिया उडान गर्ने एक एयरमा नेपालबाट ६६ हजार ८६० यात्रुले उडान भरेकोमा दाखिला हुन बाँकी रहेको यात्रु सङ्ख्याको मात्र कर असुल गर्नुपर्ने व्यहोरा औंल्याइएको छ । तिर्नुपर्ने कर पहिलो गन्तव्यसम्मको मात्र गणना गरिएको छ नेपालबाट उडान भएकोमा कनेक्टिङ फ्लाइटबाट दोस्रो गन्तव्यको भाडा रकम थप गर्दा अझै बढी आउने देखिएकोले सो समेत छानबिन गरी कर दायित्व यकिन गर्नुपर्ने महालेखा परीक्षकले उल्लेख गरेको छ । 


Author

थप समाचार
x