अर्थ / बाणिज्य

भारतले नेपाललाई दियो अक्सिजन प्लान्ट

इकागज |
भदौ १०, २०७८ बिहीबार १४:४२ बजे

काठमाडौँ - कोभिड–१९ महामारी विरुद्धको लड्न भारतका राजदूत महामहिम विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् ।

मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रति व्यक्ति पाँच एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम छ । यस हिसाबले यस अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्दछ ।

यस समारोहमा भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताए ।

राज्यमन्त्री उमेश श्रेष्ठले उपहार स्वरुप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारको रुपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड–१९ महामारी विरुद्घको लडाइमा थप बल पुग्ने उल्लेख गरे ।



Author

थप समाचार
x