माथिल्लो त्रिशुली थ्री बी दुई वर्ष धकेलियो
कोभिड–१९ र भौगर्भिक अवस्था मुख्य कारण
काठमाडौँ- माथिल्लो त्रिशुली ३ बी (३७ मेगावाट) को निर्माण कार्य दुई वर्ष पर धकेलिएको छ । सुरुको सम्झौता अनुसार ३६ महिनामा पूरा हुनुपर्ने यो आयोजना कोभिड–१९ को महामारी र सुरुङको भौगर्भिक अवस्थाका कारण ६० महिना लाग्ने भएको हो । आयोजना सुरु भएको ४० महिना लाग्दा यसको भौतिक निर्माण कार्य ४८ प्रतिशत पूरा भएको छ ।
त्रिशुली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार करिब १४ महिना कोभिड–१९ को महामारीका कारण काम गर्न नसकिएर ठप्पै भएको थियो । चिनियाँ कम्पनी ठेकेदार रहेको यो आयोजनाको सामान पनि चीनबाट ल्याउनुपर्ने हुँदा डेढ वर्षदेखि काम रोकिएको थियो ।
चिनियाँ नयाँ वर्ष (२०७६ को माघ) मनाउन घर गएका चिनियाँ कामदार कोभिड १९ का कारण फर्कन नसक्दा १४ महिनादेखि काम ठप्प हुन पुग्यो । उनीहरु फर्केर आए, तर निर्माण सामग्री र उपकरण भन्सारमा अड्केको अड्क्यै भयो ।
आयोजनाको निर्माण व्यवसायी सुता एएनएचई ग्रुप कम्पनी लिमिटेडले २०२० अप्रिल ३० र जून ३ मा पत्र पठाई रसुवागढीस्थित नेपाल–चीन सीमा नाका बन्द रहेका कारण केरुङमा लामो समयदेखि अड्किएकाले ती उपकरण आयोजनास्थल ल्याउने व्यवस्थाका लागि नेपाल सरकारसँग समन्वय गर्न अनुरोध गरेको थियो ।
निर्धारितभन्दा बढी समय लाग्नुको अर्काे मुख्य कारणमा सुरुङको अनुमान गरिएभन्दा फरक भौगर्भिक अवस्था पनि हो । गौतमका अनुसार भूगर्भमा एकदेखि पाँच प्रकारको बनोट हुन्छ । २ र ३ तीनलाई राम्रो मानिन्छ । यो आयोजनाको सुरुङमा अधिकांश प्रकार नं. ४ र ५ (टाइप) को भूगर्भ रहेकाले खन्न, बलियो पार्न समय र लागत दुवै बढी लाग्ने गर्छ ।
यो आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट (इपीसी) मा गरिए पनि भूगर्भको जोखिम जिम्मा नियोक्ता (त्रिशुली जलविद्युत् कम्पनी) ले लिएको छ । आयोजना अवधि लम्बिए पनि यसको लागत भने ८ अर्ब २२ करोड रुपैयाँ ननाघ्ने गौतमले बताए । माथिल्लो त्रिशुली थ्री ‘ए’ (६० मेगावाट) ले बिजुली उत्पादन गरी छाडेका पानी सोझै सुरुङमार्फत खन्याएर यो आयोजनाको विद्युत्गृहमा पुग्छ । यस्तो प्रकृतिको जलविद्युत्लाई ‘क्यासकेड’ भनिन्छ । क्यासकेड आयोजनामा बाध, मुहान संरचना (हेडवक्र्स) बनाउनुपर्दैन । त्यही भएर क्यासकेड आयोजना सस्तो पर्छ ।
प्रबन्ध सञ्चालक गौतमका अनुसार हालसम्म आयोजनाको काम ४८ प्रतिशत पूरा भएको छ । अबको डेढ वर्षपछि अर्थात् सन् २०२३ मार्चसम्ममा यो आयोजना पूरा हुने अनुमान छ । ‘कोरोनाको दोस्रो लहर डरलाग्दो थियो र पनि आयोजनाको काम रोकिएन,’ गौतमले मंगलबार इकागजसँग भने, ‘तर आयोजनामा ६० जनालाई एकैचोटि कोरोना भएपछि केही दिनलाई काम प्रभावित भयो र अहिले काम फेरि सुरु भएको छ ।’
यो आयोजनाको आकर्षक पक्ष भनेको यसको सुरुङ छोटो (३.८ किलोमिटर) छ । यसमध्ये २.१ किलोमिटर खनिसकिएको छ । कूल सुरुङको लम्बाइमध्ये तीन सय मिटर ‘बक्स कल्भर्ट’ (पोखरीबाट मुख्य सुरुङ जोड्ने सतही संरचना) राखिएको छ । अहिले यसको काम धमाधम भइरहेको छ । सुरुङ खन्ने काम चारतिरबाट भइरहेको छ । गौतमका अनुसार वर्षातमा पनि काम भइरहेको छ । वर्षालगत्तै सिभिल र हाइड्रो–मेकानिकलका काम हुनेछ ।
यसको अनुमानित लागत तीन करोड १८ लाख अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख नेपाली रुपैयाँ छ । इपीसी मोडेलमा चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ मा २०७४ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्नुपर्नेछ ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
यस आयोजनाले सुख्खायाममा एक करोड २४ लाख ८८ हजार युनिट र वर्षायाममा एक करोड ५७ लाख ७० हजार गरी वार्षिक रुपमा कूल २ करोड ९२ लाख ५८ हजार युनिट बिजुली उत्पादन गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया