अर्थ / बाणिज्य

कृषि बजार

फ्रेसकेटीएम : अब सीधै किसान टु किचेन

अब किसानले उत्पादन गरेको खाद्यान्न सोझै तपाईंको भान्छामा !

इकागज |
भदौ १५, २०७८ मगलवार १७:८ बजे

काठमाडौँ - उत्पादनमा न्यून मात्रामा रासायनिक पदार्थ प्रयोग भएका तरकारी तथा फलफूल कृषक/किसानबाट सीधै खरिद गरेर त्यसलाई खुद्रा बिक्रेता र केही तोकिएका स्थानमा सीधै उपभोक्तासम्म पुर्‍याउन युवाहरूले नयाँ सोचसहितको व्यवसाय सुरु गरेका छन् । 

कृषि उत्पादनमा उपभोक्ताले तिर्ने मूल्यको न्यून हिस्सामात्र उत्पादकसम्म पुगिरहेको परिप्रेक्ष्यमा किसानबाट सीधै बिक्रेताले किन्दा किसानले प्राप्त गर्ने लाभ बढाउने र उत्पादनमा प्रोत्साहित गर्ने गरी उनीहरूले ‘फ्रेसकेटीएम’को ब्राण्डमा तरकारी र फलफूल बिक्री गर्न लागेका हुन् । यसका लागि उपत्यकामा संकलन केन्द्र र बिक्रीस्थल (आउटलेट) निर्माण अघि बढिरहेको छ । 


यो व्यवसायमा विदेशमा अध्ययन गरी फर्केका र यहाँ विभिन्न व्यवसायमा स्थापित युवाहरू संलग्न छन् । उनीहरूले १० करोड लगानीमा यो व्यवसाय सुरु गरेका हुन् । चिस्यानसहित ढुवानी गर्न सकिने (रेफ्रिजेरेटेड) चार थान ट्रक ल्याइसकेको फ्रेसकेटीएमले अहिले भक्तपुरमा संकलन केन्द्र बनाइरहेको छ । यस्तै रातोपुल (ज्ञानेश्वर) र सेतोपुल (मैतीदेवी) को बीचमा आफ्नै आउटलेट तयार गरेको छ ।

अन्यलाई पनि यस्तै आउटलेट तयार गर्न प्रोत्साहन गर्दै ‘फ्रेन्चाइज’ दिने उनीहरूको योजना छ । उपभोक्ताले ट्रली लिएर त्यसमा आवश्यकता अनुसारको सबै खाले तरकारी, फलफूल खरिद गर्न सक्नेछन् । आगामी शनिबार उक्त आउटलेट सर्वसाधारणका लागि खुला गरिने www.freshktm.com का निर्देशक तथा सञ्चालक माधव जोशीले इकागजलाई बताए ।

खुद्रा बिक्री केन्द्रमा खासै आफूहरू नजाने तर चोक तथा केही पायक पर्ने स्थानहरूमा केही रिटेल आउटलेट सञ्चालन गरिने उनले बताए । युवाहरूको जोशलाई साथ दिन आफू यस उद्यममा प्रवेश गरेको बताउँदै उनले भने, ‘पढेलेखेका युवाहरू कृषि कर्ममा आउँछु भनेपछि म पनि उनीहरूसँग यसमा लागेको हुँ ।’ 

यसले आपूर्ति शृंखलामा ठूलो रूपान्तरण ल्याउने उनी बताउँछन् । जापानमा अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेर नेपालमा यही व्यवसाय सुरु गर्न फर्केका हुन्, सन्दिप अधिकारी । ‘जापानमा अध्ययन गरियो तर यहाँ लगानी गर्न रुचि भएर यो कर्ममा लागियो,’ उनले भने, ‘कृषकका उत्पादन केन्द्रहरूबाट तरकारी तथा फलफूल सीधै खरिद गर्ने र त्यसलाई आवश्यकताअनुसार ग्रेडिङ र प्याकेजिङ गरेर खुद्रा पसलमा पुर्‍याउनेछौंँ ।’

फ्रेसकेटीएमसँग आबद्ध भएका खुद्रा पसलमा मात्र यस्तो सामग्री पुर्‍याउने काम हुने उनले बताए । हरेक टोल-टोलमा फ्रेस केटीएमको तरकारी तथा फलफूल अबको केही समयमा पुग्‍नेछ । ‘हामीले आवश्यता अनुसार तापक्रम कायम गर्ने रेफ्रिजेरेटेड ट्रक तयार गरेका छौँ । त्यही गाडिले कृषकको खेतबाट तरकारी तथा फलफूल संकलन केन्द्रसम्म ल्याउनेछ । त्यस्तै तापक्रम कायम  गर्ने साना पिकअपले पसल पसलमा सामग्री पुर्‍याउनेछ ।’ 

अहिले भक्तपुरमा गोदामघर अर्थात् संकलन केन्द्र छ, पछि काभ्रे, धादिङ वा अन्य जिल्लामा पनि यस्ता केन्द्र तय हुनेछ । धोइपखाली र प्रशोधन गर्ने मात्र होइन आवश्यकता अनुसार सर्टिङ र ग्रेडिङ गरी प्याकेजिङ हुनेछ । तरकारी, स्थानीय तहमा उत्‍पादित फलफूलमा जोड दिने फ्रेसकेटीएमको योजना छ ।

फ्रेसकेटीएमले आफ्नै आउटलेटमा भने विदेशबाट ल्याइने फलफूलसमेत राख्ने तयारी रहेको अर्का संचालक एवं प्रबन्‍ध निर्देशक निरजकुमार थपलियाले बताए । ‘यो चेन आउटलेटको मोडल अलिबाबाको जस्तो विश्वसनीय र गुणस्तरीय आपूर्ति नै हो । तर अहिले हामी मुलुकभित्र केन्द्रित हुनेछौँ,’ थपलियाले भने, ‘यसमा किसान र बिक्रेतालाई राम्रो मार्जिन दिने थपलियाले बताए । जसले गर्दा फ्रेसकेटीएमको सामग्री सबै स्थानमा समान दरमा पाइयोस् ।’  

हामी यहाँ नितान्त तरकारी र यही उत्पादित फलफूलमा मात्र व्यापार गर्छौं । सरकारको सबै खाले प्रावधान पूरा गरेर मुलुकभर उत्पादन हुने, विदेशमा पाइने तरकारी तथा फलफुल एकै छानामुनिको सोचका साथ काम अघि बढेको कम्‍पनीका सीईओ सन्दिप अधिकारीको भनाइ छ । 

‘नेपालमा यस प्रकारको प्रयास पहिलो हो । कालिमाटी, बल्खु र अन्य केही स्थानबाट तरकारी जाने गरेको भए पनि यसरी निजी क्षेत्रबाट यो स्तरको व्यवस्थित त्यहाँ छैन,’ अधिकारीले भने । उनले आपूर्ति शृंखलामा आउने रूपान्तरण र उत्पादकमा हस्तान्तरण हुने लाभले तरकारी र फलफूल उत्पादक प्रोत्साहित भई कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) विस्तारमा सहयोगी हुने बताए । 
 


Author

थप समाचार
x