अर्थ / बाणिज्य

प्रदेश २ मा विद्युत् चुहावट प्राविधिकतर्फ उच्च

विद्युतीकरण भने करिब शत प्रतिशत

इकागज |
भदौ १७, २०७८ बिहीबार १४:१६ बजे

काठमाडौँ- लामो लाइन, प्रचण्ड गर्मी, सवस्टेशनको अभाव । यति भएपछि विद्युत्को प्राविधिक चुहावट उच्च हुने प्रदेश २ को वितरण प्रणालीले देखाएको छ ।
प्रदेश २ मा ६३ किलोमिटर लामो ३३ केभीको प्रसारण लाइन र उच्च क्षमताको सवस्टेशन नहुँदा प्राविधिक चुहावट ३० प्रतिशतले बढेको छ । प्रदेश २ भरि विद्युत् चुहावट गत वर्ष १६.५४ प्रतिशत पुगेको छ । यो कर्णाली प्रदेशपछि दोस्रो उच्च हो । कर्णालीमा पनि लामा लामा वितरण तथा प्रसारण लाइनका कारण प्राविधिक चुहावट उच्च छ ।

प्रदेश २ अन्तर्गत सबैभन्दा बढी चुहावट जलेश्वर र यदुकुवा वितरण केन्द्रमा भएको छ । यदुकुवामा गत वर्ष ३४.७३ प्रतिशत विद्युत् चुहावट कायम रह्यो । त्यस्तै जलेश्वरमा गत वर्ष ४३.८३ प्रतिशत चुहावट रहन पुग्यो । जलेश्वर वितरण केन्द्र प्रमुख चन्द्रनारायण साहका अनुसार अघिल्लो वर्ष भारतबाट सिधै बिजुली आयात हुन्थ्यो, यसपालि ढल्केबरबाट आपूर्ति हुन थालेपछि प्राविधिक चुहावट बढ्न पुगेको हो । यो तथ्यलाई साहले यसरी प्रष्ट पार्ने प्रयास गरे, ‘स्वदेशी बिजुली खपत बढाउन आयात बन्द गर्‍यौं, भारतबाट सिधा आउँदा सात, आठ किलोमिटर मात्र लाइन हुन्थ्यो, अहिले ढल्केबरबाट जनकपुर हुँदै जलेश्वर आउँदा ४१ किलोमिटर ३३ केभीबाट आउँछ ।’


उनका अनुसार ढल्केबरबाट जनकपुरसम्म बिजुली आइपुग्दा बाटैमा १२.५ देखि १५ प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ । ‘ढल्केबारबाट आएको बिजुलीको चुहावट जलेश्वर आएर रिडिङ हुँदा हाम्रो टाउको (भाग) मा पर्न गयो,’ साहले बिहीबार इकागजसँग टेलिफोनमा भने ।

प्रचण्ड गर्मीमा विद्युत्को माग बढ्ने, माग बढेर खपत पनि उक्लने गर्दा तार र ट्रान्सफरमर बढी तात्ने गर्नाले प्राविधिक चुहावट उच्च हुने गरेको पनि साह बताउँछन् । त्यसबाहेक भोल्टेज पनि कम हुने गर्छ । ‘भारतबाट करिब आठ किलोमिटरको लाइन हुँदै आएको बिजुलीको भोल्टेज ३५, ३५ भोल्टसम्म आउँथ्यो,’ साह भन्छन्, ‘अहिले ३६ भोल्टको बिजुली हामीकहाँ .(जलेश्वर) आइपुग्दा २६, २७ भोल्ट हुने गर्छ ।’

जाडो महिनामा प्राविधिक चुहावट ९.५ प्रतिशत हुने र गर्मीमा १५ प्रतिशत हुने साह बताउँछन् । उनका अनुसार औसतमा १२.५ प्रतिशतसम्म चुहावट हुने गर्छ ।
गत वर्षदेखि आन्तरिक उत्पादन वृद्धि भएसँगै प्राधिकरणले भारतीय बिजुली लिन छाडी स्वदेशी बिजुली नै आपूर्ति गर्न थालेको हो । जलेश्वरसम्म आइपुग्दा ६३ किलोमिटर ३३ केभीको लाइनमा उच्च प्राविधिक चुहावट हुने गरेको साह बताउँछन् । ‘अप्राविधिक (चोरी) त्यति छैन,’ उनले भने ।

प्राधिकरणले प्राविधिक चुहावट नियन्त्रण गर्न लोहरपट्टि नगरपालिकास्थित १३२/३३ केभीको सवस्टेशन निर्माण गर्न लागेकाले आगामी दुई वर्षपछि यस्तो समस्या अन्त्य हुने साहको भनाइ छ । त्यसबाहेक ३३/११ केभीका अरु दुईवटा सवस्टेशन पनि बन्दैछ । 

प्रदेश २ अन्तर्गतको सिमरा र बीरगञ्ज वितरण केन्द्रमा भने विद्युत् चुहावट अत्यन्त कम छ । सिमरामा ०.७ प्रतिशत छ भने बीरगञ्जमा ५.९९ प्रतिशत छ । यी दुई वितरण केन्द्रको चुहावटको हिसाब पनि २ नम्बर प्रदेशअन्तर्गत नै भएकाले यो प्रदेशको चुहावट कम देखिएको प्राविधिकहरु बताउँछन् ।

चुहावटको मारमा परेको प्रदेश २ अन्तर्गतकै धनुषाधाममा गत वर्ष ३५.६१ प्रतिशत रेकर्ड गरियो । अघिल्लो वर्ष ३९.७६ प्रतिशत चुहावट रहेको धनुषाधाममा गत वर्ष कम भएको हो । त्यसैगरी लाहान वितरण केन्द्रमा पनि चुहावट उच्च देखिन्छ । अघिल्लो वर्ष ३५.९७ प्रतिशत रहेको लाहानमा गत वर्ष ३२.९९ प्रतिशत चुहावट कायम भयो । 

प्रदेश २ अन्तर्गत प्राधिकरणका २० वितरण केन्द्र छन् । यो प्रदेशमा ९ लाख ४१ हजार ५३५ ग्राहक छन् । यो प्रदेशले वार्षिक १३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गर्छ भने वार्षिक एक अर्ब ५० करोड युनिट बिजुली बिक्री गर्छ । प्राधिकरणलाई सबैभन्दा धेरै आम्दानी औद्योगिक ग्राहकबाट हुने गर्छ । गत वर्ष ५८ प्रतिशत आम्दानी औद्योगिक क्षेत्रबाट भएको थियो । गार्हस्थ्य ग्राहकको योगदान भने ३१ प्रतिशत मात्रै रह्यो । जबकी कूल ग्राहकमा ९०.५३ प्रतिशत गार्हस्थ्य छन् भने औद्योगिक ग्राहक जम्मा १.४६ प्रतिशत मात्र छ ।

प्राधिकरणको प्रदेश २ प्रमुखको जिम्मेवारी हिजोबाट मात्र सम्हालेका मुनिन्द्र ठाकुर विद्युत् चुहावटको यथार्थ अध्ययन पुनः गर्ने र त्यसलाई घटाउन गरी आफूले काम गर्न लागेको बताउँछन् । ‘मैले सबै वितरण केन्द्र प्रमुखहरुलाई बोलाएर चुहावट नियन्त्रण गर्न, भोल्टेज घट्न नदिन र कूल चुहावट १० प्रतिशतमा कायम राख्ने लक्ष्य तोकी निर्देशन दिइसकेको छु’ ठाकुरले बिहीबार टेलिफोनमा इकागजसँग भने । 

सबैभन्दा धेरै विद्युतीकरण भएको प्रदेशमा २ नं. पर्छ । आठ जिल्ला रहेको प्रदेश २ मा शत प्रतिशत विद्युतीकरण हुन अब धेरै बाँकी छैन । यी आठवटै जिल्लामा ९९ प्रतिशतभन्दा माथि विद्युतीकरण भइसकेको छ । प्राधिकरणको तथ्यांकअनुसार पर्सामा ९९.७७, बारामा ९९.८१, रौतहटमा ९९.७३, सर्लाहीमा ९९.५८, महोत्तरीमा ९९.७४, धनुषामा ९९.८४, सिरहामा ९९.५९ र सप्तरीमा ९९.१९ प्रतिशत विद्युतीकरण भएको छ । 


Author

थप समाचार
x