अर्थ / बाणिज्य

हाइड्रोजन उर्जाको व्यावसायिक सम्भाव्यता र सुरक्षाबारे अनुसन्धान गर्दै काठमाडौँ विश्वविद्यालय

इकागज |
भदौ १८, २०७८ शुक्रवार १७:४३ बजे

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनलाई व्यावसायिक उर्जाका रूपमा प्रयोग गर्न यसको व्यवसायिक उत्पादन, भण्डारण र सुरक्षा चुनौतीहरूका सम्बन्धमा अनुसन्धान शुरु गरेको छ । 

पानीलाई टुक्र्याएर हाइड्रोजनलाई सिलिण्डर/उच्च चाप थेग्ने ट्यांकमा संग्रह गरी खाना पकाउनदेखि औद्योगिक क्षेत्रमा समेत प्रयोग गर्न सकिन्छ । ‘यसको व्यावसायिक सम्भाव्यताका लागि लागत प्रभावी बनाउनेदेखि सुरक्षाका चुनौतीहरूलाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ’ हाइड्रोजन प्रयोगशालाको नेतृत्व गरिरहेका विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ्ग विभागकाका सहायक प्राध्यापक विराजसिंह थापा भन्छन्, ‘सवारी साधनमा हाइड्रोजनको प्रयोगका लागि भने हामीले विश्वविद्यालयमै पेट्रोल इन्जिन सवारी साधनलाई हाइड्रोजनमा रूपान्तरण गरी चाँडै नै विश्वविद्यालय परीसरमा परीक्षण गर्दैछौं ।’ 


हाइड्रोजन लागत किफायती र सुरक्षित भएमा यसको नेपालमै व्यवसायिक उत्पादन गरी स्वच्छ उर्जाको रूपमा प्रयोग गर्न सकिने उनले बताए । वैकल्पिक उर्जाको रूपमा हाइड्रोजनलाई प्रयोग गर्दै खाना पकाउने एलपीजी (लिक्विफाइड पेट्रोलियम ग्यास) देखि सिमेन्ट र स्टिल उद्योगमा प्रयोग हुने कोइलालाई समेत क्रमशः प्रतिस्थापन गर्न सकिन्छ । 

विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ्ग विभागकाका सहायक प्राध्यापक विराजसिंह थापा

‘पहिले त हामी हाइड्रोजनको उत्पादन, भण्डारण तथा यसको सुरक्षा चुनौतीको परीक्षण गर्छौं,’ उनले भने, ‘व्यवसायिक सम्भाव्यता देखियो र सुरक्षित उर्जाका रूपमा प्रयोग गर्न सकिने भयो भने व्यवसायिक क्षेत्रलाई आह्वान गर्छौं, उहाँहरूले हाम्रो अनुसन्धान र ज्ञानलाई निःशुल्क प्रयोग गरेर व्यावसायिक उत्पादन गर्न सक्नुहुन्छ ।’
एमोनिया, युरिया बनाउन, वनस्पतिको तेललाई घ्यू बनाउन पनि हाइड्रोजनको प्रयोग हुन्छ । 

नेपालमा स्टील र सिमेन्ट उद्योगमा अहिले व्यापक रूपमा कोइलाको प्रयोग भइरहेको सन्दर्भमा कोइलालाई विस्थापन गर्नेगरी स्वच्छ उर्जालाई प्रयोगमा ल्याउन साथै उर्जा सुरक्षाका दृष्टिले पनि हाइड्रोजन महत्वपूर्ण भएको थापाले बताए । 

सवारीसाधनमा पनि हाइड्रोजनलाई उर्जाका रूपमा व्यवसायिक प्रयोग गर्न सके यसले नेपालमै उत्पादित उर्जाको प्रयोगबाट आत्मनिर्भर बन्न सकिने बताए । जब हामीसँग प्रशस्त उर्जा उपलब्धता हुन्छ, यसले खानी, खनिज प्रशोधनदेखि उर्जा–सघन व्यवसाय गर्न सकिन्छ । कुनै पनि देशमा धेरै उर्जा उपभोग हुनु समृद्धिको सूचक पनि हो । 

‘यसका लागि हाइड्रोजन उत्पादन र प्रयोगशालामा परीक्षण हुनुपर्‍यो,’ थापाले भने, ‘हाइड्रोजन उत्पादन, भण्डारण र सुरक्षित उर्जाको रूपमा प्रयोगका लागि सुरक्षा चुनौतीका सम्बन्धमा पनि अध्ययन गरिरहेका छौं ।’

नेपाल आयल निगमको ५ करोड रुपैयाँ सहयोगमा उक्त प्रयोगशाला स्थापना भई परीक्षण भइरहेको छ । हाइड्रोजनको प्रेसर एलएनजी (लिक्विफाइड न्याचुरल ग्यास) र एलपीजीको तुलनामा धेरै हुन्छ, यसको प्रेसर ३५०–४०० बार भन्दा माथिसम्म जान्छ । त्यसकारण यसको सुरक्षासम्बन्धी चुनौती र त्यसको व्यवस्थापनका सम्बन्धमा पनि अध्ययन भैरहेको थापा बताउँछन् ।  
 


Author

थप समाचार
x