गण्डकी प्रदेशका २ जिल्लामा पूर्ण विद्युतीकरण
काठमाडौँ- गण्डकी प्रदेशका कूल ११ जिल्लामध्ये स्याङ्जा र पर्वत गरी जम्मा दुई जिल्ला मात्र शत प्रतिशत विद्युतीकरण भएका छन् । गण्डकीअन्तर्गतका मनाङ र नवलपुरबाहेक बाँकी जिल्लामा विद्युतीकरणको स्थिति ९० प्रतिशतभन्दा माथि छ । हिमाली जिल्ला मनाङमा गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६७.६८ प्रतिशत विद्युतीकरण भएको छ । त्यसैगरी नवलपुरमा ८८.४ प्रतिशत जनताले बिजुली पाएको प्राधिकरणको तथ्यांकमा छ ।
पूर्ण विद्युतीकरणतर्फ उन्मुख जिल्लामा कास्की, तनहुँ, मुस्ताङ छन् । कास्कीमा विद्युतीकरणको दर ९९.५ प्रतिशत छ । त्यस्तै तनहुँमा ९९.१३ र मुस्ताङमा ९९.९३ प्रतिशत छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो जिल्ला गोरखामा भने ९०.१२ प्रतिशत विद्युतीकरण भएको छ । देशभरका ७७ जिल्लामध्ये शत प्रतिशत विद्युतीकरण भएका जिल्ला पाँच पुगेका छन् । तीनवटा बागमती र दुईवटा गण्डकी प्रदेशका जिल्लाहरु पूर्ण विद्युतीकरण भएको हो ।
गण्डकी प्रदेशमा प्राधिकरण अन्तर्गत चार लाख दुई हजार ७ सय ६ ग्राहक छन् । यी ग्राहकबाट प्राधिकरणले गत आर्थिक वर्षमा साढे चार अर्ब रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । गत आर्थिक वर्ष गण्डकी प्रदेशमा ४६ करोड युनिट बिजुली खपत भयो ।
समग्र गण्डकी प्रदेशमा विद्युत चुहावट १०.५४ प्रतिशत छ । यो चुहावट प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिमभन्दा कम हो । गण्डक प्रदेशका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट म्याग्दीमा छ । गत वर्ष म्याग्दी वितरण केन्द्रको विद्युत् चुहावट १७.३७ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । म्याग्दीपछि दोस्रो ठूलो चुहावट भएको वितरण केन्द्र कावासोती हो । कावासोतीमा १४.९९ प्रतिशत चुहावट छ ।
सबैभन्दा कम विद्युत् चुहावट भने लमजुङ वितरण केन्द्रमा छ । लमजुङ गत वर्ष ०.२६ प्रतिशत चुहावट रहेको छ । सबैभन्दा धेरै ग्राहक भएको र विद्युत् खपत तथा आम्दानीको हिसाबले अग्रस्थानमा रहेको पोखरा वितरण केन्द्रको चुहावट भने ९.८२ प्रतिशत छ । गण्डक प्रदेशको कूल आम्दानीमा पोखरा वितरण केन्द्रको योगदान ३७.६६ प्रतिशत छ ।
गण्डकीका कूल विद्युत् ग्राहकमध्ये सबैभन्दा धेरै गार्हस्थ्य (९५.४० प्रतिशत) छ । यो वर्गको ग्राहकबाट प्राधिकरणले ४९ प्रतिशत आम्दानी गर्छ । सबैभन्दा कम व्यापारिक वर्गको ग्राहक रहेको गण्डकीमा आम्दानी भने यही वर्गले गर्छ । ०.८४ प्रतिशत ग्राहक रहेको व्यापारिक ग्राहकबाट आम्दानी भने १६ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । गार्हस्थ्य ग्राहकपछि सबैभन्दा धेरै आम्दानी औद्योगिक ग्राहकबाट हुँदै आएको छ । औद्योगिक ग्राहकको योगदान कूल आयमा २० प्रतिशत छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया