उद्यमीले भने - प्राधिकरणले उद्योग धराशायी बनाउन लाग्यो
काठमाडौँ – नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणले उद्योगलाई धराशायी बनाउन खोजेको आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष पवन गोल्यानले यस्तो बताएका हुन् ।
विद्युत प्रधिकरणले उद्योगलाई लोडसेडिङ ताका डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति गर्ने निर्णय गरेको थियो । तर २०७२ फागुन ११ गतेदेखि उद्योगलाई पनि लोडसेडिङ हुने क्षेत्रमा समावेश गरिएको र विद्युत् महसुलको बिल समेत समयमा नपठाई तीन महिनापछि बल्ल पठाएको गोल्यानले बताए ।
नेपालमा स्थापना भएका धागो उत्पादक संघ अन्तर्गत जम्मा हाल चार वटा उद्योग सञ्चालनमा छन् । स्वदेशमा उत्पादन हुने धागोको २५ प्रतिशत मात्र स्वदेशमा खपत हुने भएका कारण बिक्रीको लागि विदेशमा नै पठाउने गरेको उनको भनाइ छ । विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा निकै कठिन भएको र गुणस्तरीय उत्पादनले गर्दा मात्र यस क्षेत्रमा टिक्न सकेको उनले बताए ।
प्राधिकरण सरकारी संस्थान भएर पनि नाफाखोर भएको संघको आरोप छ । यस्तै अवस्था रहेमा उद्योग धरासयी भई सम्पूर्ण मजदुरहरू सडकमा आउने हुँदा सरकार र प्राधिकरणले बेलैमा यसको समाधान दिनुपर्ने बताए ।
त्यस्तै नेपाल धागो उत्पादक संघका उपाध्यक्ष विष्णु न्यौपानेले प्रधिकरणले टाइम अफ डे मिटर (टीओडी) जाँच गरी उक्त मिटरको आधारमा उद्योगले विद्युत् उपयोग गरेको भए महसुल तिर्न तयार रहेको बताए । विद्युत् प्रधिकरण तथा सरकार एवं उद्योगी सहितको छानविन समिति बनाइ समस्या समाधान हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले कुनै पनि उद्योगीले विद्युत् महसुल बक्यौता नराखेको दाबी गरे । विद्युत् प्राधिकरणले विद्युत् महसुलको बिल ३ महिना पछि पठाएको र उद्योगीलाई हतोत्साही बनाएको बताए ।
टीओडी मिटरको आधारमा मात्र प्राधिकरणलाई कति महसुल बुझाउन बाँकी छ भन्ने प्रश्नको जवाफमा गोल्यानले प्राधिकरणको ७३ करोडको बिल हाल करिब २ अर्व पुग्न लागेको बताए । यता प्राधिकरणले यो प्रकरणमा १५ अर्ब रुपैयाँभन्दा बढी असुल उपर हुनुपर्ने बताउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया