अर्थ / बाणिज्य

निगम व्यवस्थापनको चरम लापरवाही

पाइलटले जहाज उडाउन पाएनन्

विकास थापा |
भदौ २५, २०७८ शुक्रवार १४:४७ बजे

फाइल फोटो

काठमाडौं - दस अर्ब सञ्चित घाटा र ४८ अर्ब रुपैयाँको ऋण भार बोकेको नेपाल वायुसेवा निगमले पाइलटहरुलाई अनिवार्य रुपमा दिनुपर्ने ‘सिमुलेटर’ तालिम नदिएका कारण न्यारो बडीका आठजना पाइलट विगत ६ महिनादेखि थन्केर बसेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ६, ६ महिनामा पाइलट तथा कोपाइलटहरुलाई सिमुलेटर तालिम दिनुपर्छ । तर निगमले ६ महिनादेखि तालिममा नपठाई पाइलटहरुलाई तलब मात्र खुवाउँदै आएको छ । 


निगमले कोभिड–१९ का कारण विश्वभर लागिएको लकडाउनलाई कारण देखाए पनि निजी क्षेत्रका हिमालयन, बुद्ध र श्रीएयरले भने नियमित रुपमा आफ्ना पाइलटहरुलाई सिमुलेटर तालिम अद्यावधिक गराउँदै आएको छ ।

विगत ६ महिनादेखि तालिम लिन पाएर थन्केर बसेका न्यारोबडीका पाइलटहरुमा रविन्द्रकुमार शेरचन, यामप्रसाद ज्वार्चन, कोइपाइलटहरु नगेन्द्र भट्टराई र नृपेन्द्र भट्टराई छन् । तालिम लिन नपाए पनि नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा आइकाओबाट अन्तरिम अनुमति (क्यूआर कोड) लिएर त्यसको अवधिसमेत गुजारेका सञ्जय वैद्य, गृष्म श्रेष्ठ, राजकुमार रौनियार र प्रचण्ड खड्गा छन् ।

उनीहरुको म्याद गत अगष्ट ३१ मै सकिएको हो । जबकि उनीहरुको क्यूआर कोड लिने प्रक्रिया अगष्ट १५ देखि नै सुरु हुनुपथ्र्याे । निगमको फ्लाइट अपरेशन विभागको डाइरेक्टर दिपुराज ज्वार्चन आफै क्यूआर कोड लिएर उडिरहेका छन् । क्यूआर कोडको अवधि १२ महिना ननाघ्ने गरी आइकाओले दिने गर्छ ।

सिमुलेटर तालिम लिन नपाएपछि लिने गरिएको क्यूआर कोड पनि समयमा नलिंदा निगमलाई समस्या परेको निगमका विमान चालकहरु बताउँछन् । क्यूआर कोड लिएका क्याप्टेन र कोइपाइलट एकसाथ उड्न पाइँदैन ।

न्यारो बडी चलाउन पाउने पाइलटहरुमा क्याप्टेन दिपुराज ज्वार्चनसहित क्याप्टेन योगेश हिराचन, क्याप्टेन लालबहादुर थकाली र कयाप्टेन उद्धव घिमिरे र सोनी राणा छन् । यी क्याप्टेनहरु क्यूआर कोडवाला हुन् । सिमुलेटर तालिम लिन नपाएपछि क्यूआर कोडले लिएर विमान उडान पाइने आइकाओको नियम छ । 

निगममा क्यूआर कोड नचाहिने पाइलटहरुमा क्याप्टेन सुवास रिजाल, अरविन्द पहाडी, प्रशान्त राई, मुकेशकुमार गुप्ता, भावना पन्त छन् । त्यसैगरी कोपाइलटहरुमा अनुप मानन्धर, सुरज भण्डारी, राजेश कुशवाहा, मनिष विक्रम शाह र नरबहादुर विश्वकर्मा छन् । 

भण्डारी र कुशवाहा क्याप्टेनको तालिम सकेर बढुवा भइसके पनि क्याप्टेनको हैसियतमा विमान उडाउन नपाएकाले को पाइलटका रुपमा मात्र उडाउन पाउँछन् । हाल निगमले न्यारोबडी पाँच विभिन्न गन्तव्यमा उडाइरहेको छ । 

हिजोदेखि नयाँ दिल्ली दैनिक एक उडान, हङकङ हरेक मंगलबार बिहान गएर बेलुकी आउने, मलेशिया, दोहा र दुबई भने सातामा ६ दिनको उडान सूची छ । यी गन्तव्यहरुमा पूर्ण रुपले उडान भर्ने हो भने सातजना क्याप्टेन र सातजना कोइपाइलट आवश्यक पर्छ । तर उडान भर्न नपाएर थन्किरहेका पाइलटको अभावका कारण यीमध्ये कुनै एउटा सेक्टर रद्द गर्नुपर्ने अवस्था आउने निगम स्रोत बताउँछ ।

हङकङ जाने विमानमा दुई क्याप्टेन र दुई कोपाइलट आवश्यक पर्छ । दिल्लीमा भने एकजना क्याप्टेन र अर्र्काे कोपाइलटले उडाउने गर्छन् । पाइलट अभावमा उडान रद्द हुने अवस्थाले निगमलाई ठूलो आर्थिक क्षति पुग्छ । यी पाइलटहरुलाई निगमले बसी बसी तलब खुवाउँदै आएको छ । ६ महिनाभन्दा धेरै समय विमान उडाउन नपाउँदा उनीहरुको प्रवीणतामा धक्का पुग्छ, जसले सुरक्षाको सबाल पनि उठाएको छ । 

निगमले स्पेनको ‘ग्लोबल ट्रेनिङ एकेडमी’ (जीटीए) सँग पाइलटहरुलाई सिमलेटर तालिम दिन दुई वर्षका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार उसले इण्डोनेशियामा लगेर तालिम दिनुपथ्र्याे । इण्डोनेसियाले कोभिडका कारण भिसा नै दिएन ।  जीटीएले टर्कीमा तालिम दिने भने पनि कोभिड–१९ को नयाँ भेरियन्ट भेटिएपछि स्थगित गरेको थियो । 

जीटीए आफूले नसकेपछि उसले आफ्नै मुलुक स्पेनमा लगेर भए पनि तालिम दिन सक्ने अवस्था थियो । तर निगमले यसप्रति चासो राखेन । टर्कीका लागि भीसा लगाइसकेका पाइलटहरुको भीसा रद्द हुन पुगेको थियो । यस्तो तालिम चार दिनको हुन्छ । 

कोभिड १९ र लकडाउनलाई बहानाबाजी बनाएको निगम व्यवस्थापनले निजी क्षेत्रको हिमालयन, बुद्ध र श्री एयरलाइन्सबाट सिक्नुपर्ने निगमका पाइलटहरु बताउँछन् । हिमालयन एयरलाइन्सले पूर्ण लकडाउन र कोभिड–१९ को तीव्र महामारीबीच आफ्ना पाइलटहरुलाई नियमित रुपमा सिमुलेटर तालिम दिंदै आएको छ । हिमालयन कुनै पनि पाइलट क्यूआर कोड लिनुपर्ने तथा घरमै थन्किनुपर्ने अवस्थामा छैनन् ।

टर्कीले बन्द गरेको बेला हिमालयनले आफ्ना पाइलटहरुलाई पूर्ण लकडाउनका बेल ट्यूनिशिया पठाएको थियो । यता निगमका ३५ जना पाइलटको भीसाको म्याद सकियो, निगमले टर्कीबाहेक अरु मुलुकमा पठाउन चाहेन । 

त्यसैगरी बुद्ध एयरले सिमुलेटर तालिमका लागि आफ्ना पाइलटलाई धमाधम फ्रान्स पठाइरहेको छ । श्री एयरलाइन्सले भने यस्तो तालिम जर्मनीबाट गराउँदै आएको छ । ‘निगम व्यवस्थापनले चार महिनादेखि सिमुलेटेर तालिमको लागि १४० दिनसम्म कुनै वास्ता गरेन,’ एक पाइलटले इकागजसँग भने, ‘जानाजान नियतवस नै रोकेर राखेको जस्तो देखियो ।’

यता वाइडबडी जहाजमा पनि विमान चालकको खासै समस्या नपरेको स्रोत बताउँछ । हाल वाइडबडी जापान, मलेसिया, दुबई, दोहा (वैकल्पिक रुपमा) उडिरहेको छ । यसका ६ जना पाइलट सिमुलेटर तालिम लिन टर्की गएका छन् । टर्की जाने पाइलटहरुमा इन्स्ट्रक्टर पाइलट पीपी सिंह र सुधिर तोमार (दुवै भारतीय), समजकुमार श्रेयठ र को पाइलटहरु सजल कुइँकेल, जीवेश लामा र सुनील श्रेष्ठ छन् । 

समयमै किन तालिममा पठाउने बन्दोबस्ती नगरेको भन्ने प्रश्न गर्न खोज्दा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल सम्पर्कमा आउन चाहेनन् । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x