भोलिदेखि नेपाल–बंगलादेश ऊर्जा बैठक
मुख्य एजेन्डा भारतसहितको सहभागितामा सीमापार विद्युत् व्यापार
फाइल तस्बिर
काठमाडौँ - नेपाल र बंगलादेशका ऊर्जा सचिव र सहसचिवस्तरीय तेस्रो बैठक भोलिदेखि सुरु हुने भएको छ । भोलि सोमबार संयुक्त कार्यदल (जेडब्लूजी) र मंगलबार सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएसटी) बैठक हुने ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए ।
बैठकको मुख्य एजेन्डा दुई देशबीच भारतसमेतको सहभागितामा दुई देशबीच विद्युत् व्यापार, नेपालको जलविद्युत्मा बंगलादेशको लगानी, नवीकरणीय ऊर्जामा सहयोग आदान प्रदान रहेको सचिव काकीले इकागजसँग बताए । यसअघि दुई पटक नेपाल र बंगलादेशबीच यस्तो बैठक भइसकेको छ । कोभिड–१९ का कारण बैठक भर्चुअल हुनेछ ।
सहसचिवस्तरीय बैठकले पारित गरेका मुद्दालाई सचिवस्तरीय बैठकले अनुमोदन गर्ने चलन छ । प्राविधिक रुपमा सबै मुद्दाको छलफल गरेपछि त्यसलाई अनुमोदनका निम्ति सचिवस्तरीय बैठकमा लैजाने गरिन्छ । भारतसित पनि यस्तै खाले संयन्त्र (जेडब्लूजी र जेएसटी) बाट दुईपक्षीय एजेन्डाहरुमाथि छलफल र निर्णय हुँदै आएका छन् ।
भोलिको बैठकको नेतृत्व गर्न लागको ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालका अनुसार नेपाल र बंगलादेशबीच विद्युत् व्यापार कसरी सुरुवात गर्न सकिन्छ भन्ने प्रमुख विषय छ । यसमा भारतको समेत अनिवार्य सहयोग लिनुपर्ने भएकाले नेपाल, भारत र बंगलादेशको त्रिदेशीय बैठकका लागि छलफल हुने भेटुवालले बताए । ‘भारतीय प्रसारण लाइन उपयोग गर्ने गरी अर्काे सीमापार विद्युत् व्यापारका लागि भारतीय सहयोग जरुरी छ,’ भेटुवालले आज आइतबार इकागजसँग भने, ‘भारतसहित त्रिदेशीय वार्ता गर्ने प्रयास हुनेछ ।’
बैठकमा बंगलादेशले नेपालको जलविद्युत्मा लगानी गर्ने विषयमा पनि छलफल हुने भेटुवालले बताए । उनका अनुसार बंगलादेशलाई दिने आयोजना पहिचान गर्न गठित कमिटीले रिपोर्ट दिइसकेको छ । कमिटीले पहिचान गरेका आयोजनाबारे बैठकमा छलफल हुनेछ । बंगलादेशलाई केही पूर्वका र केही पश्चिमका आयोजना निर्माणका लागि प्रस्ताव गरिनेछ ।
यसैगरी बैठकमा माथिल्लो कर्णाली (९०० मेगावाट) को पछिल्लो प्रगति सम्बन्धमा पनि छलफल हुने भेटुवालले जानकारी दिए । भारतको निजी क्षेत्र जीएमआरले अछाममा पर्ने माथिल्लो कर्णालीको बिजुली बंगलादेशलाई बेच्ने प्रक्रिया सुरु गरे पनि हालसम्म सम्झौता हुन सकेको छैन । बंगलादेशले माथिल्लो कर्णालीको ५ सय मेगावाट बिजुली खरीद गर्ने समझदारी पत्रमा हस्ताक्षर भने गरिसकेको छ ।
यसबाहेक नवीकरणीय ऊर्जा क्षेत्रमा बंगलादेशले हासिल गरेको प्रगति र नेपालसँगको सहकार्यका विषय बैठकका अर्काे एजेन्डा हो । मौसम परिवर्तनका कारण उत्पन्न समस्यासम्बन्धी पनि छलफल हुने कार्यक्रम छ ।
सचिव स्तरीय बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव कार्कीले गर्नेछन् भने उनका समकक्षी मोहम्मद हजिबुर रहमान हुनेछन् । त्यसैगरी सहसचिव स्तरीय बैठकको नेतृत्व ऊर्जाका सहसचिव भेटुवालले गर्नैछन् । बंगलादेशी सहसचिव मोहम्मद मोहसिन चौधरी हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया