अर्थ / बाणिज्य

कोभिड महामारीको पीडा

...अनि काठमाडौँ ठप्प पार्ने निष्कर्षमा पुगे पर्यटन व्यवसायी

विदेशी पर्यटक भन्छन्- ‘नेपाल सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेनछ’

विष्णु विश्‍वकर्मा |
भदौ ३१, २०७८ बिहीबार २२:४० बजे

काठमाडौँ - भियतनामबाट एक जना पर्यटक भदौ तेस्रो हप्ता काठमाडौँ ओर्लिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी कोभिड १९ महामारीले थला परेको पर्यटन क्षेत्र बुझ्न नेपाल आएका थिए । केही ठाउँ घुम्ने पनि उनको योजना थियो ।

पहिलो प्राथमिकतामा काठमाडौँ थियो भने त्यसपछि पोखरा र लुम्बिनी थियो । विदेशी पर्यटकले सस्तोमा धेरै ठाउँ घुम्न पाइने गन्तव्यका रुपमा नेपाललाई लिन्छन् । उनी पनि त्यही सपना साँचेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।


तर सबै सोचेजस्तो कहाँ हुन्छ र ? त्यसमाथि नेपालमा । घुम्न त धेरै परको योजना । उनी विमानस्थलमै बन्धक भए । विमानस्थल सुरक्षा निकायले उनलाई विमानस्थलबाट बाहिरिन दिएन । उनले प्रयास नगरेका होइनन् । तर सकेनन् । नेपालका केही सीमित पर्यटन व्यवसायीसँगको सम्पर्कले ‘पावर’ नपुगेर होला । उनी बन्धक अवस्थाबाट भियतनाम फर्किन बाध्य हुनुपर्‍यो ।

‘भियतनामका ती पर्यटकले एयरपोर्टमा अपराधीसरह व्यवहार भोगे । उनी संक्रमित थिएनन् । कुनै अपराध गरेर नेपाल आएका थिएनन्,’ बिहीबार नाट्टा केन्द्रीय कार्यालय गैह्रीधारामा आयोजित पर्यटन व्यवसायीका छाता संगठनका अध्यक्षको बैठकमा नाट्टाका अध्यक्ष अच्युत गुरागाँईले भने, ‘सबथोक खुलिसकेको नेपालमा अझै पर्यटक आउन पाएका छैनन । भियतनाम फर्केपछि ती पर्यटकले मलाई भने, ‘नेपाल सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र अझै परेको रहेनछ ।’

यो त उनको प्रतिनिधिमुलक अनुभव मात्रै हो । गुरागाँईलाई दैनिक यस्ता दर्जनौ फोन आउँछन् । विदेशमा सम्पर्कमा रहेका उनका पर्यटक सोध्छन् । उनको संस्थाका व्यवसायी पनि यही गुनासो गर्छन् ।

सबैको एउटै प्रश्न छ, ‘नेपालमा ढुक्कले पर्यटक आउने वातावरण कहिले बन्छ ?’ धेरैबाट यो प्रश्न सुनेर आजित भएका उनले बिहीबार आफ्नै कार्यालयमा पर्यटन व्यवसायीका छाता संगठनका अध्यक्ष तथा उपाध्यक्षलाई बोलाएर छलफल गरे ।

सबैको साझा निष्कर्ष रह्यो, ‘पर्यटन क्षेत्रलाई सहज बनाउने र विदेशबाट पर्यटक भित्र्याउने योजनामा सरकारले अझै बेवास्ता गरिरहेको छ ।’

यसका लागि प्रयास नभएको होइन । पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयसम्मै लबिङ भइरहेको छ । तर सरकारले डान्सबार खोल्दा समेत पर्यटन क्षेत्र खोलेको छैन । सारा पर्यटन व्यवसायीको गुनासो यसैमा छ । मन्त्रिपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाइृ पर्यटन व्यवसायीका गुनासो सुन्ने फूर्सद कहाँबाट हुनु ?

‘बोर्ड हुँदै मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयसम्म कुरा गरेका हौँ । लबिङ गरेकै छौँ । मुख्यसचिवसम्म पनि कुरा ग¥यौँ,’ पर्यटन बोर्डका पूर्व सीइओ दीपकराज जोशीले छलफलमा भने, ‘तर विदेशी पर्यटकलाई सहजै आउन दिने कुरामा निर्णय हुन सकेको छैन । अब यसका लागि निर्णायक दबाब वा आन्दोलन आवश्यक देखियो ।’

जोशीकै भनाइमा सही थाप्दै एनएमएका अध्यक्ष सन्तवीर लामाले भने, ‘अब आन्दोलन नगरी पर्यटन व्यवसाय अगाडि बढाउन गाह्रो पर्यो । अन्तिम एकपटक प्रयास गरौँ । त्यतिले पनि सरकार सुन्दैन भने काठमाडौँ ठप्प पार्नुपर्छ । आन्दोलन चर्काउनुपर्छ । कोभिडले थला परेको पर्यटन उकास्नैपर्छ ।’ 

सबैका धारणा सुनेपछि नाट्टाका केन्द्रीय अध्यक्ष गुरागाँईले निष्कर्ष सुनाए, ‘कोभिड खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल गर्नुपर्ने हाम्रो पहिलो माग हो । सरकारले सम्बोधन गर्नुपर्छ । कुनै निर्णय गर्न नसक्ने सीसीएमसी खारेज गर्नुपर्छ । तीन दिनभित्र माग पूरा नभए काठमाडौँ ठप्प पार्ने आन्दोलन हुन्छ ।’

यसका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग सहकार्य गर्ने पर्यटन व्यवसायीका छाता संघ संस्थाका अध्यक्षको निष्कर्ष छ ।

छलफलमा नाट्टाका अध्यक्ष गुरागाँईका साथै उपाध्यक्ष रमेश थापा, महासचिव सुधीर उपाध्यक्ष, टानका अध्यक्ष खुमबहादुर सुवेदी, एनएमएका अध्यक्ष लामा, हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह, नाराका अध्यक्ष गंगाप्रसाद नेपालको उपस्थिती थियो । यस्तै सोट्टो नेपालका अध्यक्ष नारायण पराजुली, टीबानका अध्यक्ष इश्वर शर्मा, एनटीभीएका अध्यक्ष सन्तोष न्यौपाने, पाटाका अध्यक्ष विभुचन्द्र ठाकुर, नाट्टोका अध्यक्ष अशोक पोखरेल र नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पनि सहभागिता थियो ।

नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भारतीय पर्यटक दैनिक लूकीछिपी नेपाल आउने भएपनि सरकारले नाका खोल्न आनाकानी गरेको बताए । भारतसँगको सीमानाका खोलेर भारतीय पर्यटक नेपाल आउने वातावरण बनाउन पनि सरकारसँग पर्यटन व्यवसायीले माग गरेका छन् । 


Author

थप समाचार
x