अर्थ / बाणिज्य

त्रिपालमुनि छोपिएको रेल: पाल फाटेर चिरा पर्‍यो, चल्‍ने साइत परेन

सुभाष कर्ण |
असोज २, २०७८ शनिवार १३:२१ बजे

जनकपुरधाम - असोज २ गते अर्थात जनकपुरधाम जयनगर चल्ने रेल भित्र्याइएको दिन । रेलवेका सम्पूर्ण पूर्वाधार तयार भइसकेको दाबी गर्दै नेपाल रेलवे कम्पनीको रेलवे विभागले किनेको रेल २०७७ असोज २ गतेका सन्चालनका लागि जनकपुरधाममा ट्रायल परीक्षण गर्दै भित्र्यायाएको थियो । तर रेल भित्र्याइएको एक वर्ष बितिसक्दा पनि चल्न सकेको छैन ।  

जनकपुरधामबाट जयनगरसम्म सन्चालनका लागि रेल विभागले ६ वर्ष लामो प्रतिक्षापश्चात २ सेट रेल किनेर जनकपुरधाममा ल्याएको थियो । तर आवश्यक प्रक्रिया पुरा गर्न नसकेको कारण सन्चालनमा आउन नसकेको हो । रेलको इन्जनसहितको बोगी एकवर्षदेखि धनुषाको ईनर्वामा त्रिपालमुनि छोपेर राखिएको छ ।


आवश्यक तयारी पुरा गर्न गर्न नसकिएको कारण लामो समयसम्म किनेर रेलको ती दुवै सेट भारत बिहारको हाजीपुर स्टेशनमा राखिएको थियो । गतवर्ष असोज २ गतेका दिन तयारी पुरा भयो भनी जनकपुरधाम ल्याइयो । रेल सेट जनकपुरधाम आउँदा उत्साहित हजारौँ नेपालीहरू जयनगरदेखि जनकपुरधामसम्मको रेल्वे स्टेशनमा पुगेका थिए ।

यहाँका जनतामा लामो समय प्रतिक्षा अब समाप्त हुने हो भनी उत्साहित थिए । तर एकवर्षसम्म पनि संचालनमा आउन नसक्दा अब संचालन हुन्छ भन्ने आश मारिसकेको बताउँछन् । जनकपुरधाम ४ निवासी विनोद राउतले लामो प्रतिक्षापछि रेल हेर्दा अब रेल संचालन हुन्छ भन्‍ने लागेपनि एक वर्ष बितिसक्दा पनि संचालन नहुँदा अब संचालन हुन्छमा आफू विश्वस्त नरहेको बताए ।

त्यस्तै कुर्था निवासी रामउदगार यादवले भने सरकार तराई मधेशको विकासमा अनिच्छुक देखिएकोले ढिलाइ भइरहेको आरोप लगाउँछन् । भारतमा चल्ने इन्टरसिटी एक्सप्रेसको डिजाइनमा नेपालको झण्डा अंकित रेल हेर्न कोभिडको परवाह नगरी रेलवे स्टेशनमा पुगेका हजारौ नेपाली जनता अहिले सरकारको कछुवा गतिको कारण रेल संचालन हुन्छ भन्नेमा विश्वस्त छैनन्।

करिब एक अर्बको लागतमा १३ सय सिट क्षमता भएको किनिएको सो दूबै सेट रेल अहिले छोपिएको पाल समेत फाटेर चिराचिरा भई खुल्ला आकाश मुनि छ । जसका कारण रंगरोगन पनि उड्न थालेको छ । पाटपूर्जामा खिया लाग्न थालेको छ । रेल संचालन हुन नसक्दा तयार भएका पुर्वाधार रेल लिकको क्लिपहरू समेत चोरी हुन थालेका छन् । तर कहिलेदेखि संचालन हुन्छ भन्नेमा सम्बन्धित निकाय आफै अनभिज्ञ छन् ।

सम्बन्धित निकाय रेल विभाग समेत तयारी पुरा हुन नसकेको कारण कहिलेदेखि संचालन हुने बारे जानकार छैनन् । रेल विभागका नवनियुक्त प्रबन्ध संचालक निरञ्जन झाले प्राविधिक जटिलताको कारण हाल रेल संचालनको अवस्था नरहेको बताए ।

'रेल किनिएर ल्याइसके पनि कानुनी तथा प्राविधिक जटिलताका कारण अहिले तत्काल नै रेल गुड्ने अवस्था छैन । रेलसम्बन्धी कानुन प्रतिनिधिसभाबाट पारित भइसकेको छैन, प्राविधिक विषयहरूमा पनि समस्या छ,’ झाले  भने, ‘सञ्चालनका लागि अझै समय लाग्नेछ, तर कति समय लाग्ने बारे उनी आफै अनभिज्ञ छन् । कानुनी प्रक्रिया सरकार र संसद्‍बाट पुरा हुने हो । प्राविधिक जटिलताको कुरा रेल विभाग समस्या समाधान गर्नमा जुटेको छ ।'

रेल्वे ट्रेक, स्टेशन, भवन, कर्मचारी आवास निर्माण भइसके पनि रेल संचालनको छाँटकाँट नदिएका कारण अहिलेसम्म निर्माण कम्पनी भारतको इस्कनले नेपाल सरकारलाई हस्तान्तरण गरेको छैन । भारतीय निर्माण कम्पनीले भौतिक संरचनाहरू नेपाललाई हस्तान्तरण नगर्दा समेत समस्या भएको झाले बताए ।

हुनत कर्मचारी पूर्तिका लागि आवेदन समेत रेल विभागले विज्ञापनमार्फत लिइसकेको छ। एक वर्ष बितिसक्दा पनि हालसम्म कर्मचारी भर्ना गर्न सकेको छैन । भाडा निर्धारण, यात्रु बीमा, दुर्घटनालगायतबारे पनि विभागले कुनै तयारी पुरा हुन नसकेको झाको भनाइ छ ।

'रेल सञ्चालन अघि नै रेल संचालनको ऐन र कार्यविधिसहितका कानूनको आवश्यकता हुन्छ । जुन अहिले संसदमा विचाराधीन अवस्थामा छन्,' झाले भने, 'संसद्‍मा विचाराधीन अवस्थामा रहेको विधेयक पारित भएलगतै कार्यविधि तयार गरेर रेल संचालनमा ल्याउन सहज हुनेछ ।'

रेल संचालनमा प्राविधिकलगायतका सहयोगमा नेपाल चासो नदेखाएको भन्दै करिब दुई साताअगाडि भारतको कोकण रेल्वे कम्पनीले चाँडै रेल संचालनमा नल्याइए सम्झौता रद्द गर्नसम्मको चेतावनी दिइसकेको छ । सो कम्पनीले सम्झौता अनुसारको भुक्तानी नेपाल सरकारले यथाशिघ्र नगरे सम्झौता रद्द गर्ने भनी नेपाल रेलवे कम्पनीलाई पत्र पठाइसकेको छ ।

झाले भने सम्झौता अनुसारको रकम भुक्तानीको प्रक्रिया अघि बढाइसकिएको भए पनि कसरी भुक्तानी गर्ने सम्बन्धमा नेपाल सरकारले निर्णय गर्न नसकेको कारण ढिलाइ भएको दाबी गरे । 

नेपाल रेल्वेको इतिहास

विक्रम सम्वत् १९९४ सालमा कोइलाबाट चल्ने इन्जनसहितको बोगीबाट नेपालमै पहिलो पटक विवाह पञ्चमीका दिन जनकपुरधाममा रेल संचालन भएको थियो । राणा शासनकै पालामा भारतमा शासक तत्कालीन इष्ट कम्पनीले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसारपोसार गर्न भारतको जयनगरदेखि धनुषा हुँदै महोत्तरीको बिजलपुरासम्मसंचालनमा ल्याएको थियो ।

तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएदेखि ५२ किलोमीटरसम्म संचालन हुँदै आएको रेल जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटरमा सीमित हुन गयो । त्यसयता नेपालकै पहिलो रेलवे सेवाको दुर्गतिको दिन सुरु भयो । जनकपुर–जयनगरका लागि दैनिक ३ सिफ्टमा संचालन हुँदै आएको रेल समय क्रमानुसार २ सिफ्टमा सीमित हुन पुग्यो विस्तारै विस्तारै २०६६ सालदेखि बन्द नै भयो ।

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो । २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्ने निर्णय गर्‍यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन गरी २०६१ जेठ १८ गतेदेखि कम्पनी अन्तर्गत गाभेर जनकपुर जयनगर रेल्वेलाई नेपाल रेलवेमा परिणत गरियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रेल विभाग गठन भएपछि त्यसले नै हेर्दै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x