अर्थ / बाणिज्य

यस्तो छ सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा छानबिन समितिको प्रतिवेदन

पवन तिमिल्सिना |
असोज ४, २०७८ सोमवार १८:१३ बजे

काठमाडौँ गत असार १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङ प्रकरणमा छानबिन गरी रायसहितको प्रतिवेदन पठाउन अर्थ मन्त्रालयलाई पत्राचार गर्‍यो । तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले असार २८ मा कानुन सहसचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानिबन समितिले दुई महिना लगाएर प्रतिवेदन तयार पारेको छ । समितिको प्रारम्भिक प्रतिवेदनले 'जाँचबुझ समिति गठन गरी जाँचबुझ गर्न' र 'जाँचबुझ गर्दा प्रमाणहरू लोप र नाश गर्न सक्ने, जाँचबुझ र तहकिकातको काम कारबाहीमा बाधा व्यवधान तथा प्रतिकूल प्रभाव पार्न सक्ने' देखिएकाले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई पदीय जिम्मेवारीबाट अलग हुने गरी निलम्बन गर्न' सिफारिस गरेको थियो । जसअनुसार मन्त्रिपरिषद्‌ले ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षबाट निलम्बन गरी जाँचबुझ आयोग गठन गर्‍यो ।


जाँचबुझ समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा, प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् । मन्त्रिपरिषद्को यो निर्णयसँगै ढुंगाना निलम्बनमा परेका हुन् भने साउदले त्यसअघि नै राजीनामा दिइसकेका थिए ।

अर्थ मन्त्रालयको छानबिन समितिले 'निलम्बित अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्‍जका तत्कालीन प्रमुख कार्यकारी अधिकृतले पदीय दुरुपयोग गरी धितोपत्रको भित्री कारोबार गरेको र धितोपत्र व्यवसाय गरेको हुनसक्ने पर्याप्त आधार र प्रमाणहरू रहेको देखिएको हुँदा त्यस्तो कार्यमा भ्रष्टाचार समेत हुनसक्ने' उल्लेख छ ।

के छ प्रतिवेदनमा ?
अर्थ मन्त्रालयले तयार पारेको प्रतिवेदनमा के छ भन्ने चर्चा चलिरहँदा इकागजले छानबिन समितिको प्रतिवेदन फेला पारेको छ ।

गत भदौ ११ मा छानबिन समितिले रेविका ढुंगानाको लक्ष्मी बैंकको बानेश्वर शाखामा पेस गरेको केवाइसी विवरण र खाता नम्बर ०१२२४००११८९ को २०७७ मंसिर १ देखि २०७७ चैत ३० सम्मको बैंक स्टेटमेन्ट र बैंकमा पेस भएको हस्ताक्षरको नमूनासहितको विवरण राष्ट्र बैंकमार्फत मगायो । भदौ १५ मा समितिले खाता सञ्‍चालन भएदेखि हालसम्मको बैंक स्टेटमेन्ट तथा २०२१ जनवरी १२ र १० मा जम्मा गरेको डिपोजिटको भौचरको छायाँप्रति मगाएको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद गर्न धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नी छोरी रेविका ढुंगानाको नाममा रहेको लक्ष्मी बैंकको खातामा १० हजार रुपैयाँ र पाँच लाख रुपैयाँ जम्मा गरेको छानबिन प्रतिवेदनमा खुलेको छ । ३ जनवरी २०२१ मा १० हजार 'भिष्म ढुंगाना'को नामबाट र १० जनवरी २०२१ मा 'भिष्म ढुंगाना वेदना वस्ती'को नामबाट रेविकाको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यसको तीन दिनमै रेविकाले शिखा सेयरधनी अग्रवाललाई सेयर खरिद गर्न भुक्तानी दिएको देखिन्छ ।

भदौ १ मा समितिले सर्वोत्तमको सेयरधनी शिखा अग्रवालको नामको सेयर भिष्मराज ढुंगानाकी छोरी रेविका ढुंगाना र चन्द्रसिंह साउदकी पत्नी सुशीलाकुमारी बोहोराले २०७७ माघ २६ मा गरेको नेप्सेको ओटिसी कारोबारका सन्दर्भमा सेयर बिक्रीवापत भुक्तानीको विवरण, चेक, रकम र बैंक नाम झिकाएको थियो । जसबाट भिष्मराज ढुंगानाकी छोरीले अग्रवालको खातामा २५ लाख रुपैयाँ भुक्तानी गरेको खुल्छ ।

गत वर्ष पुस २८ मा भिष्मराज ढुंगानाले आफ्नो नामको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ०२९५९०५०२५०६१० नम्बरको खाताबाट छोरी रेविकाको खातामा २५ लाख रुपैयाँ चेक सेयर बिक्रेता शिखा अग्रवाललाई भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । रेविका विदेशमै भएको अवस्थामा यस्तो कारोबार भएको थियो ।

छानबिन समितिले भिष्मराज ढुंगानालाई यस विषयमा स्पष्टीकरण समेत सोधेको थियो । ढुंगानाले 'छोरीबाट केही समयअगाडि लिएको रकम चलाएको' जवाफ दिए । उनले छोरीको खातामा अनुरोध गरेकोले पाँच लाख रुपैयाँ जम्मा गरिदिएको भन्दै स्पष्टीकरण दिएका थिए । उनले जावाफमा भनेका छन्, '३ जनवरी २०२१ मा मैले जम्मा गरिदिएको रु. १०, ००० /-  छोरीको स्कुटर बेच्दा बचेको रकम र पत्रमा उल्लेख भएको रकम रु.५ लाख मैले चलाएको रकम तिर्नका लागि जम्मा गरिदिएको हो ।'

छानबिन समितिले 'वेदना वस्ती को हुन् ?'  भनेर प्रश्न गरेको थियो । उनले वस्ती छोरी रेविकाकी आफ्नै सानिआमा भएको बताएका थिए ।

ओटिसिमा कारोबारदेखि सेयर खरिदसम्ममा भिष्मराज ढुंगानाको छोरीको उपस्थिति रहेको प्रतिवेदनमा उल्लेख छ । तर छोरी रेविका ढुंगाना विदेशमा रहेको तथ्यमा भिष्मराज ढुंगाना आफैंले स्वीकार्दै आएका छन् । विदेशमा रहेका बखत रेविकाको नामबाट सेयर खरिद कारोबार भएको तथ्यमा कुनै विवाद छैन ।

त्यसरी विदेशमा रहेको छोरीको खातामा रकम जम्मा गरी रकमबाट सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको अवस्था देखिएको छ । तर यो काम भिष्मराज ढुंगाना आफैले गरेको हुनसक्ने पर्याप्त सम्भावना रहेको प्रतिवेदनले औंल्याएको छ । यसबाट सेयर खरिद गर्न छोरीलाई कुनै रकम नदिएको भनी भिष्मराजले दिएको जवाफ झुट्टा तथा भ्रमपूर्ण भन्ने देखिने छानबिन समितिको ठहर छ ।

छोरीको नामबाट विगतमा यसरी लगानी गरेको कुनै पनि विवरण नेप्सेबाट प्राप्त तथ्यांकको अध्ययनबाट देखिएको छैन । २०७७ पुस ३० मा भिष्मराज ढुंगानाले आफ्नो विदेशमा रहेकी छोरी रेविका ढुंगानाको लक्ष्मि बैंकमा रहेको खातामा चेकद्वारा तथा नगदै रकम जम्मा गरी सर्वोत्तम सिमेन्टको सेयर खरिद गर्न लगाएको तथ्य स्थापित हुन्छ । यसबाट भिष्मराज ढुंगाना नेपाल धितोपत्र बोर्ड जस्तो धितोपत्र बजारको नियमनकारी निकायको अध्यक्ष रहेकै अवस्थामा धितोपत्र व्यवसायमा संलग्न रहेको तथ्य देखिन आएको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिसँगको प्रश्नोत्तरमा नेप्सेका तत्काली सीइओ साउद आफैले पत्नी सुशीलाकुमारी बोहराको नाममा सेयर खरिद गरेको उल्लेख छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x