अर्थ / बाणिज्य

लाभांश घोषणा गरेकै दिन निफ्राको भाउमा उच्च वृद्धि

इकागज |
असोज ५, २०७८ मंगलबार १६:४३ बजे

काठमाडौँ -  लाभांश घोषणा गरेकै दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य उच्च दरले वृद्धि भएको छ । कारोबारमा आएको एक घन्टामै निफ्राको मूल्य बढेर प्रति कित्ता तीन सय ९७ रुपैयाँसम्म पुगेको थियो । तर त्यसपछि फेरि सेयर मूल्य ओरालो लागेको थियो ।

दिउँसो १ बजेसम्म निफ्राको सेयर मूल्य सुरुवाती मूल्यको तुलनामा ६.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष निफ्राले लाभांश वितरण गर्न नपाउने भएपछि निफ्राको सेयर मूल्यमा खासै वृद्धि हुनसकेको थिएन ।


सामान्यतया मुनाफाको लाभ लिने समयमा कम्पनीको सेयर मूल्य बढ्ने गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने घोषणा गरेको छ । सोमबार बैंकको सञ्‍चालक समितिको ९८औं बैठकले यस्तो निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणअनुसार सञ्‍चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश बाँड्ने निर्णय गरेको हो । चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावमा उल्लेख छ । बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ ।


Author

थप समाचार
x