अर्थ / बाणिज्य

आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

'जलविद्युत् विकाससँगै यसवर्षदेखि पेट्रोलियम खपत कम हुने'

इकागज |
असोज ६, २०७८ बुधबार १२:५९ बजे

काठमाडौँ– एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । अघिल्लो वर्षको अनुमानित २.३ प्रतिशतभन्दा आर्थिक वृद्धिदरमा सुधार आउने बैंकको फ्ल्यागशीप प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा उल्लेख छ । 

‘जारी कोभिड–१९ विरुद्धको खोप अभियानले आर्थिक गतिविधि सुचारु भई आर्थिक वृद्धिदर विस्तार हुनेछ, राष्ट्रिय खोप अभियान नै नेपालको आर्थिक पुनरुत्थानको लागि महत्वपूर्ण पक्ष हो,’ एडीबीका राष्ट्रिय निर्देश आर्नो कोश्वाले भने, ‘कोभिड–१९ महामारी पूर्णतया टरिनसकेकाले महामारी नियन्त्रणका कठोर उपायले यो वर्ष पनि आर्थिक पुनरुत्थानमा अवरोधको जोखिम भने कायमै छ ।’


आउटलुकका अनुसार, नेपालको कृषि उत्पादन खासगरी धानबालीको उत्पादन समयमा रोपाइँ र मनसुनका कारण सुधार आउने उल्लेख छ । त्यस्तै, निर्यातमा विस्तार र मजबुत आन्तरिक मागका कारण आन्तरिक उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ । राष्ट्रव्यापी खोप योजनाले संक्रमणको दर क्रमशः न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । 

चालु आर्थिक वर्षको बजेटले देशको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने घोषणा गरेको छ भने मौद्रिक नीतिले प्रभावित व्यवसाय र परियोजनालाई पुनःकर्जा सुविधा र सहुलियपूर्ण कर्जालाई निरन्तरता दिएको छ । 

पछिल्लो समय थोक र खुद्रा दुवैतर्फको व्यापार विस्तार भएको छ भने यातायात र वित्तीय सेवाका कामदारलाई खोप प्रदान गरेसँगै यी क्षेत्र निर्वाध सञ्चालन भएकाले सेवा क्षेत्रको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

यद्यपि, बाह्य पर्यटकको आवागमन सन् २०२०मा ८०.८ प्रतिशतले कमी आएकोमा अब यो वर्षदेखि पर्यटन सेवा, पदयात्रा र आरोहणले निरन्तरता पाउने अपेक्षा गरिएको छ । होटल र रेष्टुरेन्ट, ट्राभल र आतिथ्यसत्कार (हस्पिट्यालिटी) क्षेत्र सञ्चालनमा आएपनि महामारी अघिकै अवस्थामा आउन अझै धेरै समय लाग्ने देखिन्छ ।

आउटलुकले मुल्यवृद्धि (मुद्रास्फिति) ५.२ प्रतिशतमा रहने अनुमान गरेको छ । गत वर्षको औसत मुद्रास्फिति ३.६ प्रतिशत छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आन्तरिक बजारमा मागमा वृद्धिले बजार मूल्य केही माथि जाने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना र निजी क्षेत्रका अन्य जलविद्युत् आयोजना राष्ट्रिय ग्रीडमा जोडिएसँगै नेपालको पेट्रोलियम आयात कम हुने अनुमान छ । जलविद्युत्को उपलब्धता बढेसँगै पेट्रोलियमको माग घट्ने अनुमानका बाबजूद पेट्रोलियम बाहेकका आयात भने वृद्धि हुने बताइएको छ । निर्यात र रेमिट्यान्सको मजबुत विस्तार हुने अनुमान सार्वजनिक गर्दै आउटलुकले चालु खाता घाटा गत वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८ प्रतिशत रहेकोमा यस आर्थिक वर्षमा ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । 

अन्य जोखिममा प्राकृतिक विपत्ती अनियमित मनसुनजन्य बाढी, पहिरोले खेतीपातीको उत्पादनमा ह्रास ल्याउने र पूर्वाधारलाई क्षति पुर्‍याउनसक्ने एडीबीको एसियन डेभलपमेन्ट आउटलुकमा उल्लेख गरिएको छ । केही महिनाअघिमात्रै बाढी र पहिरोले नेपालका धेरै पहाडी जिल्लामा जनजीवनलाई असर पार्नुका साथै ठूलो धनजनको क्षति गराएको छ । 

उक्त आउटलुकले संघ, प्रदेश तथा स्थानीय सरकारको खर्चमा देखिएको निरन्तरको कमजोरीमा सुधार गर्न लगानी योजना, वित्तीय व्यवस्थापन, परियोजना तयारी, खरिद र ठेक्का व्यवस्थापनमा सुधार गर्न सुझाएको छ । 


Author

थप समाचार
x