अर्थ / बाणिज्य

सर्वोत्तम सिमेन्टसँगै अजोड इन्स्योरेन्स प्रकरणको पनि छानबिन

शंकाको घेरामा ४९ सेयर कारोबारी, भिष्मराज ढुंगानाले थन्क्याएका थिए छानबिन प्रतिवेदन

पवन तिमिल्सिना |
असोज ६, २०७८ बुधवार १४:१८ बजे

काठमाडौँ – सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमाथि छानबिन गरेको अर्थ मन्त्रालयको समितिले अजोड इन्स्योरेन्सको पनि भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग ) सम्बन्धी छानबिन गरेको छ ।

२०७७ चैत १३ को दिउँसो साढे दुई बजे बसेको सञ्‍चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्‍यो । तर सूचना सार्वजनिक हुनु अगाडी नै सेयर मूल्यमा अस्वाभाविक वृद्धि भइरहेको थियो । सञ्‍चालक समितिको निर्णय भएको एक हप्तापछि यो निर्णय बीमा समितिको निर्देशनमा स्थगन भयो । धितोपत्र बोर्डले चैत १८ मा नेप्सेसँग कारोबारविवरणसहित प्रारम्भिक सुपरीवेक्षण प्रतिवेदन माग्यो ।


बोर्डले धितोपत्र दलाल व्यवसायी सुपरीवेक्षण शाखाका निर्देशक अम्विकाप्रसाद गिरीको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गर्‍यो । छानबिन उपसमितिले अनुसन्धानका क्रममा नेपाल स्टक एक्सचेञ्‍ज, सिडियस एन्ड क्लियरिङ र सम्बन्धित धितोपत्र दलाल व्यवसायीसँग गोप्य पत्राचार गरी विवरण माग्यो ।

नेप्सेसँग मागिएको जवाफमा उपसमितिलाई अपूर्ण जवाफ दिएको प्रतिवेदनमा उल्लेख छ । चैत १६ गते अजोडको कारोबार संख्या, कारोबार रकम र कारोबार मूल्य अचानक वृद्धि भएको देखिएकाले आवश्यक छानबिनका लागि उपसमितिले सिफारिस गर्‍यो ।

उपसमितिले अजोडको कारोबारमा संलग्न खरिदकर्ताहरूले भित्री सूचनाको आधारमा कारोबार गरेको हो वा होइन भन्ने यकिन गर्न गत बैशाख ६ मा सञ्‍चालक समितिको अध्यक्ष, सदस्यहरू, कम्पनी सचिव, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीहरूको तीन पुस्ते विवरण, नाम ठेगानासहितको पारिवारिक विवरण मगायो । तर त्यो विवरणबाट कुनै पारिवारिक संलग्नता नदेखिएको उससमितिको ठहर छ । त्यस्तै विवरणभित्रका व्यक्ति खरिद बिक्रीमा संलग्‍न नभएको पनि उल्लेख छ ।

बैशाख ७ गतेको तेस्रो वार्षिक साधारणसभाबाट सञ्‍चालक समितिमा निर्वाचित पानुदत्त पौडेलले त्यही दिन अजोड इन्स्योरेन्सको एक हजार कित्ता सेयर खरिद गरे । तर उनले सेयर खरिद गर्दा उनी कम्पनीको सञ्‍चालक नरहेको प्रतिवेदनमा उल्लेख छ ।

५०० कित्ताभन्दा बढी सेयर किन्ने ४९ जना

चैत १६ मा अजोडको सेयर दुई सय ४३ जनाले खरिद गरेका थिए । पाँच सय भन्दा बढी कित्ता सेयर किन्ने ४९ जना थिए । जसले एकैदिन ८३.८९ प्रतिशत सेयर खरिद गरेका थिए । भित्री सूचना चुहावटका आधारमा कारोबार भएको हो भने पाँच सयभन्दा बढी कित्ता खरिद गर्ने लगानीकर्ताहरेः तात्त्विक रुपमा बढी फाइदा लिनसक्ने उपसमितिको अनुमान थियो । त्यसै आधारमा उपसमितिले ४९ लगानीकर्ताको नेप्से युजर आइडी र विवरण माग्यो ।

सिडिएससीबाट प्राप्त विवरणहरूको अध्ययन गर्दा ४९ मध्ये ३९ खरिदकर्ताले चैत १६ मा खरिद गरेको सेयर बिक्री गरिसकेको खुलेको छ ।  बैशाख १६ गतेसम्म गरेको अजोडको कारोबारमा हेर्दा भने ४१ जनाले चैत २५ गते अगाडी नै आफ्नो स्वामित्वमा रहेको सेयरहरू आंशिक वा पूर्णरुपमा सेयर बिक्री नगरेको उल्लेख छ । २०७७ चैत २५ मा बिमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित गर्न सूचना सार्वजनिक गरिसकेको छ । यसको अर्थ बिमा समितिले जारी गरेको सूचना सार्वजनिक हुनु अगाडी नै चुहावट भएकव हुनसक्ने आधार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

चैत १६ गतेभन्दा अगाडी गरेको कारोबारमा सात व्यक्तिहरूले मात्रै त्यो दिनभन्दा अघिल्लो दिन दोस्रो बजारमा अजोडको कारोबार गरेको उल्लेख छ । गत भदौ ४ मा उपसमितिले प्रतिवेदन पेस गरिसकेको छ । तर निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले छानबिन नगरी जिम्मेवारी पन्छाउँदै आएको अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको निष्कर्ष छ । २०७७ चैत २७ मा अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई छानिबन गरी कारबाही गर्न निर्देशन दिएको थियो । प्रतिवेदनमा भनिएको छ, 'ऐनले प्रदान गरेको अधिकारप्रयोग गरी छानबिन कारबाही टुंगो लगाउनुपर्नेमा सो गरेको देखिँदैन ।'

यो पनि पढ्नुहोस् :

यस्तो छ सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा छानबिन समितिको प्रतिवेदन


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x