बिहारलाई बिजुली दिने कुलमानको प्रस्ताव यस्तो छ
काठमाडौँ - यो वर्ष नेपाल विद्युत् प्राधिकरणको १८ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत हुन नसकी खेर गयो । अबका प्रत्येक वर्षायाममा झनभन्दा झन् धेरै बिजुली खपत हुन नसक्ने देखेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको बिहारलाई बिजुली बेच्ने प्रस्ताव गरे । मौखिक रुपमा नर्थ बिहार पावर डिस्ट्रिव्यूसन कम्पनी लि. (एनबीपीडीसीएल) सकारात्मक बनेको छ ।
प्राधिकरणले बिहारलाई बीरगञ्ज (रक्सौल), गण्डक (रामनगर), कुशाहा (कटैया) र ढल्केबर–मुजफ्फुरबाट बिजुली दिन सकिने आँकडा पेश गरेको छ । प्राधिकरणले चौबीसै घण्टा (आरटीसी) समय तोकेर (नन आरटीसी) गरी दुई तवरले दिन सकिने प्रस्ताव गरेको छ ।
यसअनुसार तीन सय मेगावाट बिजुली चौबीसै घण्टा र ८० मेगावाट बिजुली समय अवधि तोकेर दिन सकिने उल्लेख छ । चौबीसै घण्टा बिजुली दिन सकिनेमा रक्सौल (८० मेगावाट), रामनगर (२० मेगावाट), कटैया (१०० मेगावाट) र ढल्केबर (१०० मेगावाट) छन् ।
निश्चित अवधिका लागि (नन आरटीसी) मा रामनगर, कटैया र ढल्केबर छन् । यसअनुसार रामनगरमा राति ११ देखि भोलिपल्ट ६ बजेसम्म ३० मेगावाट दिन सकिने उल्लेख छ । त्यस्तै कटैयामा पनि राति ११ देखि ६ बजेसम्म ५० मेगावाट दिन सकिने छ । ढल्केबर र परवानीपुरमा भने चौबीसै घण्टाबाहेक अरु वर्गको बिजुली दिन सकिने उल्लेख छैन ।
प्राधिकरणले हिउँदयाममै कटैया–राजबिराजको ३३ केभीको लाइनबाट १० मेगावाट आयात गर्छ । ३३ केभीका सीतामढि–जलेश्वर, रसौल–बीरगञ्ज, जयनगर–सिराहामा क्रमशः १२, १२ र ७ मेगावाट बिजुली हिउँदयाममा आयात हुन्छ ।
कटैया–कुशाहा प्रसारण लाइनको भोल्टेज क्षमता १३२ केभी हो । यहाँबाट प्राधिकरणले हिउँदयाममा १२५ मेगावाट बिजुली आयात गर्दै आएको छ । गत हिउँदमा १३२ केभीकै कटैया–कुशाहा दोस्रोबाट ८० मेगावाट, १३२ केभीको रक्सौल–परवानीपुरबाट ८० मेगावाट, १३२ केभी रामनगर–गण्डकबाट ४५ मेगावाट बिजुली हिउँदयाममा आयात हुन्थे ।
प्राधिकरणको प्रस्ताव बिहारले मानेमा वर्षायाममा उसलाई दिएको बिजुली हिउँदयाम (डिसेम्बर) देखि बिहारले प्रिमियमबिना नेपाललाई फिर्ता गर्नेछ । यसरी दिइएको बिजुलीको पैसा बिहारले दिनुपर्ने छैन, बरु हिउँदयाममा त्यति नै बिजुली दिए पुग्छ । ‘यसरी बिजुलीको कारोबार गर्दा नेपाल र भारतबीच विद्यमान प्रसारण संरचना उपयोग हुन जान्छ,’ प्राधिकरणको प्रस्तावमा छ, ‘अहिलेको परिवर्तित सन्दर्भमा यो मोडेलले दुई पक्षबीचको व्यापारिक सम्बन्ध कायम राख्न मद्दत गर्नेछ ।’
प्राधिकरणले बिहारलाई वर्षायामभरिका महिनाहरुमा अनवरत रुपमा २०० मेगावाटसम्मको बिजुली आपूर्ति गर्न सक्ने विश्वास पनि दिलाएको छ । हिउँदयाममा बिहारले नेपाललाई दिएको बिजुली नेपालले वर्षायाममा बिहारलाई दिएकोभन्दा बढी हुन गएमा त्यसलाई खातामा हिसाब राखी क्रमशः व्यवस्थापन गरिने प्राधिकरणको प्रस्ताव छ ।
प्राधिकरणले नेपालमा थुप्रै जलविद्युत् आयोजनाहरु निर्माणको क्रममा रहेको र तिनीहरुले उत्पादन सुरु गरेपछि हाल प्रस्ताव गरिएको भन्दा बढी बिजुली बिहारलाई दिन सकिने पनि उल्लेख गरेको छ । बिजुली विनिमयका साथै उपयुक्त ‘बिजनेस मोडेल’ (व्यापार ढाँचा) मा विद्युत्को कारोबार गर्न सकिने प्राधिकरणले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया