‘ककनीमा क्यासिनो भिलेज राखौं’
काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सृजनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सचिव कोइरालाले नेपालजस्तो विविधताले भरिपूर्ण देश संसारमा कतै नभएको भन्दै नेपाली पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालकाबारेमा प्रचार गर्न नसकेको उल्लेख गरे । उनले पर्यटन व्यवसाय बचाउन प्रचार नै पहिलो आवश्यकता रहेको बताए । यस्तै काठमाडौं र पोखरामा मात्रै पर्यटन विकास गरेर राष्ट्र उन्नतिको बाटोमा नजाने भन्दै दुर्गम गाउँमा पर्यटन सञ्चालन गर्नुपर्ने उनले बताए ।
उनले गत वर्षदेखि नै सरकारले क्यासिनो भिलेजको योजना बनाएको बताउँदै उनले हिल स्टेशन र क्यासिनो भिलेज खोजेर पर्यटकहरूलाई भित्राए विदेशी डलर कमाउन पर्यटक खोज्दै हिँड्नुनपर्ने उल्लेख गरे । अमेरिकाको भिसा लिन नेपालीहरूले चार घण्टा कुर्नुपरेको बताउँदै अब अमेरिकीहरूलाई पाँच घण्टा कुर्नुपर्ने तरिकाले विकास गर्नुपर्ने सचिव कोइरालाले बताए । उनले निजी क्षेत्रको सहयोगमा सरकार यसरी विकास र प्रवद्र्धन गर्नका लागि सदैव तत्पर रहेको धारणा राखे ।
‘नेपालको पर्यटन क्षेत्रलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा सेल गर्न सकेका छैनौं, हामीसँग जस्तो विविधता भएको संसरमा कतै छैन, ८ हजार ८४८.८६ देखि ७० मिटरसम्मको हामीसँग रेन्ज छ, मेचिदेखि महाकालीसम्म एउटै रेन्जमा हिमाल देख्न सक्नुहुन्छ, अमेरिकातिर साना हिमालाई सेल गरिरहेका छन् तर हामीसँग यत्रा हिमाल छन् हिमालै होइन कि जस्तो लाग्छ, सेल गर्न सकिरेहका छैनौं, हाम्रो इन्डस्ट्री बचाउनको लागि अब सेल गरौं, हामीले काठमाडौं, पोखरामा मात्रै टुरिस्ट विकास गरेर भएन, यसरी राष्ट्र उन्नतिको बाटोमा जाँदैन, अब जुम्ला, कर्णाली, दुर्गम क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गरौं,’ सचिव कोइरालाले भने, ‘त्यहाँ होटलहरू जे बनाउनु छ बनाउँ, के चाहिन्छ गरौं, हामीले लगानीका क्षेत्रहरू फैलाउन पर्यो, बीचमा मात्रै राखेर हुँदैन, हामीले अहिले एउटा कन्सेप्ट ल्यायौं, ककनीमा क्यासिनो भिलेज राखौं, त्यो ठाउँमा टुरिस्टहरूलाई भित्राऔं, त्यस्तै अरू जुम्लातिर छ भने त्यहाँ, पूर्वतिर छ भने पूर्वतिर क्यासिनो भिलेज खोजौं, हिल स्टेशन खोजौं, तर लगानी गरिसकेपछि प्रतिफल पाउने हिसाबले गरौं ।’
सचिव कोइरालाले सरकारले ढिलै भए पनि अन अराइभल भिसा दिने निर्णय गरेकोले मिहेनत, लगनशील र धैर्यता राखेर काम गर्न सुझाव दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया