अर्थ / बाणिज्य

कम राजश्व तिरेको भेटिएपछि जगदम्बा अटो ग्रुपलाई जरिवाना

इकागज |
असोज ११, २०७८ सोमबार २१:३० बजे

वीरगञ्ज - कम राजश्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ । काठमाडौं सुविधानगरस्थित जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि १३ लाख ८० हजार रूपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । 

भारतको चेन्नईस्थित टीभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँच पास गराई चेसिस र इञ्जिनसहितको टेम्पोका विविध सामग्री एक साताअघि आयात गर्न लागेको थियो ।


छड्के जाँचका क्रममा अनुसन्धानको दायरामा आएको उक्त सामग्रीबारे थप अनुसन्धान गरी कम्पनीले माग गरेबमोजिमको छुट रकम पाइने नदेखिएकाले उक्त सामग्री पूर्णरूपमा खोलखाल नभएको देखिएकाले कारबाहीस्वरूप छुट रकम लिएर जरिवाना गरिएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिए । 

भारतबाट सवारी साधनको इञ्जिन, चेसिससहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्ट्स भनेर आयात गर्दा अन्तःशुल्कमा ५० प्रतिशत नेपाल सरकारले छुट दिने प्रावधानअनुसार कम्पनीले उक्त छुट लिन खोजेको थियो  ।

यद्यपि यसबारे पुनः छड्के परीक्षण गरी अनुसन्धानपश्चात् उक्त सामग्री पूर्णरूपमा खोलखाल नगरेको पाइएकाले नियमानुसार छुट असुलस्वरूप १३ लाख ८० हजार रूपैयाँ थप रकम लिइएको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x