अर्थ / बाणिज्य

सनराइजसहित तीन बैंकको लाङटाङ खोला जलविद्युत् आयोजनामा लगानी

इकागज |
असोज १४, २०७८ बिहीबार १३:४२ बजे

काठमाडौँ- स्याफ्रुबेँसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविद्युत्‌ आयोजना’को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्दार्थ बैंक तथा एन.सी.सी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ । 

असोज ११ गते सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा.लि. र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्षसमेत रहेका छन् । 


२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विधुत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । 

कम्पनीका अनुसार आयोजनाबाट वार्षीक १३३.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ । 

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोभिड महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।


Author

थप समाचार
x