अर्थ / बाणिज्य

भूकम्पपछिको पुनर्निर्माण : नेपाल र भारतले गरे एकसाथ समीक्षा

इकागज |
असोज १४, २०७८ बिहीबार १७:३९ बजे

काठमाडौँ - भारत र नेपालले असोज १४ गते काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक आयोजना गरेको छ । बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह-अध्यक्षतामा सम्पन्न भएको हो ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो ।


बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो । यस अघि जेपीएमसीको बैठक २०७६ फागुन २५ गते भएको थियो । बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्‍चालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गर्‍यो ।

आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए । त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए । जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भयो । 


Author

थप समाचार
x