अर्थ / बाणिज्य

प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको लफडा मिलाउन ऊर्जामन्त्री अग्रसर

अवरुद्ध सेवा पुन: सञ्‍चालन गर्न सहमत

इकागज |
असोज १९, २०७८ मंगलबार ११:३० बजे

काठमाडौँ- नेपाल विद्युत्‌ प्राधिकरण र टेलिफोन/इन्टरनेट/केबल टिभी सञ्‍चालकहरूबीचको विवाद समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले अग्रसरता लिएकी छिन् । प्राधिकरणको  विद्युतीय  संरचनाहरूमा सम्झौता नगरी टेलिफोन/इन्टरनेट/केबल टिभी सेवाका तार काटिएको थियो । 

असोज १७ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।


समस्याको समाधानका लागि सेवा प्रदायकहरूले विद्युत्‌का पोलहरू प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयं घोषणा गरी कात्तिक मसान्तभित्र सम्झौता गर्न अनुरोध गर्ने निर्णय भएको थियो । सूचना तथा प्रसारण विभाग र नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण गर्ने, अवरुद्ध सेवा पुनः तत्काल सञ्चालन गर्ने निर्णय भएको छ ।

समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपायहरू सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिवज्यूको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।

प्राधिकरणका विद्युत्‌ पोलहरू प्रयोग गर्ने सम्पूर्ण टेलिफोन/इन्टरनेट/केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूले कात्तिक मसान्तभित्र आफूले सेवा सञ्चालनका लागि पोल प्रयोग गरेको स्थान, प्रयोग परिमाण (कि.मी.) तथा पोलको भाडा भुक्तानी गर्न बाँकी अवधिको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

यसको पुष्टि गर्ने कागजातहरूसहित नेपाल विद्युत्‌ प्राधिकरणका स्थानीय वितरण केन्द्रहरूमार्फत सम्बन्धित प्रादेशिक कार्यालयमा पेस गरी सम्झौता गर्ने भनिएको छ।


Author

थप समाचार
x