अर्थ / बाणिज्य

काँक्रेविहारको काम रोकियो

इकागज |
असोज २१, २०७८ बिहीबार १४:५६ बजे

फाइल फोटो

सुर्खेत - कर्णालीकै पर्यटकीयस्थलको परिचय बनाएको काँक्रेविहार संरक्षित वन क्षेत्रमा भइरहेको काम केही समयका लागि रोकिएको छ । काँक्रेविहारमा निर्माणाधीन ‘कम्पाउन्ड वाल’ पर्खालको काम रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेपछि निर्माणको काम रोकिएको हो । अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले मंगलबार आदेश दिएको हो ।

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध–सीमामा पर्खाल नलगाइ ५–७ मिटर जग्गाबाहिर छोडेर पर्खाल लगाएको भन्दै  अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए ।
उक्त रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ताहरू विद्याभूषण मानन्धर र शेरबहादुर खत्रीले बहस गरेका थिए ।


‘निवेदकका पक्षमा अधिवक्ताहरूले गरेको बहसका आधारमा हाल निर्माणाधीन कार्य रिट निवेदनको टुंगो नलाग्दासम्म उच्च अदालत नियमावली–२०७३ को नियम ४२ १) बमोजिम काँक्रेविहार संरक्षित वन क्षेत्रभित्रको जग्गा छोडी पर्खाल निर्माण गर्ने कार्य नगर्नु÷नगराउनु ’ अन्तरिम आदेशमा भनिएको छ ।

अधिवक्ता खत्रीले कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत विरुद्ध रिट दायर गरेका थिए । यता डिभिजन वन सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले पर्खालको सुरक्षाका साथै अनुगमनका क्रममा हिड्नुपर्ने भएकाले थोरै जग्गा छोडेर पर्खाल लगाइएको बताए । उनले यस विषयमा सरोकारवालासँग छलफल गरिने पनि बताए । 


Author

थप समाचार
x