अर्थ / बाणिज्य

दसैँमा अनलाइन सपिङ्गको लागि पाँच विकल्प

इकागज |
असोज २१, २०७८ बिहीबार १७:५२ बजे

काठमाडौँ- दसैँको आगमनसँगै बजारमा किनमेल गर्नेको घुँइचो देखिन्छ । न्युरोड तथा असन क्षेत्रमा दसैँको किनमेल गर्नेहरूको भिडले गर्दा सवारी आवागमनमा अत्यन्तै जाम हुने गर्छ । नेपालमा किनमेलको लागि हाल ई–कमर्श साइटहरूले समेत विकल्प दिन थालेका छन् । अनलाइनबाट चाहिने सबै सामान छानेर किन्न सकिने हुँदा किनमेलमा अनलाइन एउटा राम्रो विकल्प हुन थालेको छ । हाल अनलाइनमा नुनदेखि सुनसम्म किन्न सकिनेहँदा कोभिड-१९ को जोखिममा बाहिर ननिस्किएर घरमै आफुले चाहेको सामान खरिद गर्नसकिन्छ । 

अनलाइनबाट किनमेल गर्दा केही भने केही सावधानी अपनाउनु जरुरी हुन्छ । कतिपय अनलाइनले कमसल सामान बेच्‍ने तथा फिर्ता नलिने गर्ने गरेको समेत पाइन्छ । केही अनलाइनले बजारभन्दा निकै महंगोमा समेत सामान बेचेको ग्राहकको गुनासो समेत सुनिन्छ । अनलाइनमा सामान खरिद गर्दै हुनुहन्छ भने सकेसम्म रिटर्न पोलिसी राम्रो भएको अनलाइन सपिङ्ग साइटबाट खरिद गर्नुहोस् । सामान अर्डर गर्दा कत्तिको विश्वासिलो साइट छ भन्ने कुरा ख्याल गरेर मात्र अर्डर गर्नुपर्छ । 


 दसैँमा बजार जान गाह्रो लाग्छ र घरमै बसेर दसैँको किनमेल गर्ने सोचमा हुनुहुन्छ भने यसको लागि तपाईंलाई पाँच विकल्प तल रहेका छन् ।

१. दराज

दराज पाकिस्तानबाट सुरु २०१२ मा गरेको ई–कमर्श साइट हो । नेपालमा हाल दराज चिनियाँ अनलाइन जाइन्ट अलिबाबा अन्तर्गत रहेको छ । दसैंको किनमेल गर्नको लागि तपाईंलाई दराजले हाल विभिन्न अफरहरू पनि संचालन गरेको छ । दराजबाट किनेको सामान मन नपरेमा निश्चित दिनसम्म फिर्ता गर्नसक्ने सुविधा रहेको छ । घरायसीदेखि पहिरन तथा श्रृङ्गारका सामान एवं सुनसमेत खरिद गर्न सक्नुहुन्छ । दराजमा नेपालमा उपलब्ध अन्य अनलाइन साइट भन्दा धेरै विकल्प रहेको छ ।  दसैँमा किनमेल गर्नको लागि दराज एक उपयुक्त विकल्प हुनसक्छ ।

२. सस्तो डिल

नेपालको अनलाइन क्षेत्रमा सस्तोडिल लोकप्रिय रहेको छ । नेपालमा अनलाइन सपिङ्ग सेवा गर्दै आएको सस्तो डिलमा केही समय अघिमात्रै भारतीय अनलाइन सपिङ्ग साइड फ्लिपकार्ड प्रवेश गरेसँगै यसमा भारतीय बजारका सामान समेत किन्न सकिन्छ । सस्तो डिलले दसैँलाई लक्षित गर्दै विभिन्न योजना समेत ल्याएको छ । दसैँमा बजारमा नगई अनलाइनबाटै सामान किन्ने सोचमा हुनुहुन्छ भने सस्तोडिल एक विकल्प हुनसक्छ ।

३. मुन्चा

नेपालको सबैभन्दा पुरानो साइट मुन्चा डटकम हो । मुन्चाले विदेशमा बसेर नेपालमा सामान पठाउन यो साइट सुरु गरेको थियो । पहिले जस्तो सक्रिय रूपमा संचालन नभए पनि दसैँलाई भनेर मुन्चाले विशेष अफरहरू ल्याएको छ । मुन्चामा तपाईलाई आवश्यक परेको सामान अर्डर गरेर घरमै प्राप्त गर्नसक्नुहुन्छ । मुन्चामा नेपाल तथा विदेशमा बस्नेले समेत सामान आफ्ना आफन्तलाई गिफ्ट गर्न सक्नुहन्छ । दसैँलाई किनमेल गर्न मुन्चा एक विकल्प बन्न सक्छ ।

४. सोचेको डट कम

सोचेको डटकम पछिल्लो समय लोकप्रिय रहेको साइट हो । यसमा तपाईंले घरायसीदेखि पहिरनसमेत किन्न सक्नुहुन्छ । बच्चाहरूको लागि समेत यसमा अन्य साइट भन्दा धेरै विकल्प दिइएको छ । सोचेकोले दसैँको लागि विभिन्न अफरहरू सार्वजिनक गरेको छ । दसैँमा बजार जान झन्झट लाग्छ र अनलाइनमै किनमेल गर्ने सोच्‍नु भएको छ भने सोचेकोलाई पनि तपाईंले सोच्न सक्नुहुन्छ ।

५.  नेप्बे

अन्तराष्ट्रिय क्षेत्रमा इबे नामसँग मिल्दो नेप्बे नेपालमा अनलाइन सपिङ्गमा युवापुस्ताबीच लोकप्रिय रहेको छ  । नेप्बेमा विदेशी सामानहरु खरिद गर्न सकिने व्यवस्था गरेको छ । विश्वका प्रमुख देशहरुका उत्पादनहरु यस साइटमार्फत किन्न सकिन्छ । ग्याजेट्स खरिदको लागि चर्चामा रहेको साइट हो यो । दसैँमा अनलाइन मार्फत किनमेल गर्ने सोचमा हुनुहुन्छ भने नेप्बे तपाईंको लागि एक उत्कृष्ट विकल्प हुन सकिन्छ ।


Author

थप समाचार
x