अर्थ / बाणिज्य

पाँच युवा मिलेर झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

इकागज |
असोज २१, २०७८ बिहीबार १९:२७ बजे

बिर्तामोड – झापामा बिहीबारदेखि जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा आएको छ । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ ।

पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा एक साथ केन्द्र सञ्चालनमा ल्याएका हुन् । उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बिर्ताबजारमा रहेको मुख्य केन्द्रको बिहीबार उद्घाटन गरेका छन् ।


फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेका माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्नसक्ने उपभोक्ताको गुनासो आएसँगै स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अर्ग्यानिक जिउँदो ताजा माछा बिक्रीको बिक्री केन्द्र सञ्चालनमा ल्याइएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए ।

केन्द्रमा पंघास, रहु, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएको उनले जानकारी दिए । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्वारियम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ । उनीहरूले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनीसमेत स्थापना गरी माछाको दाना पनि बिक्री गर्दै आएका छन् ।


Author

थप समाचार
x