अर्थ / बाणिज्य

एमसीसी सहयोगमा बन्‍ने प्रसारण लाइनको ३० किलोमिटर रुट परिवर्तन हुने

इकागज |
असोज २२, २०७८ शुक्रवार १३:३६ बजे

काठमाडौँ -  अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बाट प्राप्त हुने अनुदान नेपालमा परिचालन गर्ने निकाय मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपाल विकास समितिले प्रसारण लाइनको रुट परिवर्तन गर्ने भएको छ । ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन करिब ३१५ किमि लामो रुटमध्ये ३० किलोमिटर रुट फेरबदल गर्न लागेको हो । 

गत जेठ ४ मा वन तथा वातावरण मन्त्रालयले एमसिए–नेपाल द्वारा कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । आयोजना कार्यान्वयन गरिने १० वटा जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।


विवादित तथा अधिग्रहण गर्न कठिन स्थानमा पुन: सर्वेक्षण गर्न लागिएको एमसीए नेपालका सूचना अधिकारी राजिव दहालले बताए । उनले भने, '३१५ किलोमिटरमा ३० किलोमिटरको रुट परिवर्तन गर्न खोजिरहेका छौँ । सार्वजनिक खरिदको माध्यमबाट नयाँ परामर्शदातालाई पुन: सर्वेक्षण गराउँदैछौँ । कतै रुख कटानका समस्या, कतै जग्गा अधिग्रहण विवाद, कतै खेतीयोग्य जमिनका विषयहरू होलान् । यस्ता समस्याहरूलाई समाधान गर्न पुन: सर्वेक्षण गर्न खोजिएको हो ।'

यो प्रसारण लाइन भारतको सीमादेखि उत्तरतर्फ तराईमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको नयाँ बुटवल सब-स्टेशन हुँदै उत्तरपूर्वको चुरे पहाड पार गरेर तनहुँ जिल्लाको नयाँ दमौली सब-स्टेशन एवं पूर्वी भाग हुँदै नुवाकोट जिल्लास्थित रातमाटे सबस्टेशनसम्म विस्तारित गर्ने योजना छ । रातमाटेबाट यसको एक खण्ड दक्षिण पूर्वी मार्ग हुँदै मकवानपुर जिल्लास्थित नयाँ हेटौँडा सब-स्टेशनसम्म र अर्को खण्ड पूर्व लाग्दै काठमाडौँ जिल्लास्थित लप्सीफेदी सव-स्टेशनसम्म पुग्‍नेछ । 

२०७४ भदौ २९ मा नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच आयोजना सञ्चालनका लागि एमसीसी नेपाल कम्प्याक्टमा हस्ताक्षर गरिएको थियो। करिब ३१५ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्नेछ । यो प्रसारण लाइन १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका भएर जानेछ ।

राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा एमसीसी अनुमोदन हुनसकेको छैन । एमसीसी कम्प्याक्ट संसद्‌बाट अनुमोदन हुने टुंगो नभए पनि एमसिए-नेपालले काम रोकेको छैन ।  


Author

थप समाचार
x