अर्थ / बाणिज्य

टिकटक हेरेरै कपडाको डिजाइन छनोट

फेसन डिजाइनर राधा भन्छिन् - भाइरलको पछि नलाग्‍नुस्

राधा ढकाल |
असोज २२, २०७८ शुक्रबार १४:२९ बजे

काठमाडौँ – राम्रो लगाउने, मिठो खाने चाड दसैँमा कपडाको व्यापार अरु बेलाभन्दा बढि नै हुन्छ । दसैँमा विभिन्न डिजाइनका कपडा खोज्दै मानिसहरू आइपुग्छन् । तर, अहिले कपडाको अर्डर दिन आउनेहरू टिकटकको भिडियो लिएर आउँछन् । आजभोलि हाम्रो व्यापार टिकटकमुखि भएको छ । मानिसहरू टिकटकमा जस्तो लुगा भाइरल भएको छ, त्यस्तै लुगा खोज्दै आउँछन् । 

भाइरल भएका डिजाइनको डिमान्ड सामान सकिएर धान्नै सकिँदैन । डिमान्ड धान्न नसकेर कतिपय अवस्थामा त सेवा नै दिन सकिँदैन । यस हिसाबले हामीजस्ता फेसन डिजाइनरले टिकटकको माध्यमबाट राम्रो मार्केट पाएका छौँ । बिना विज्ञापन टिकटकमा भाइरल भएको भरमा हाम्रा डिजाइन बिक्री हुने भएका छन् । 


तर, हामीलाई फाइदा भए पनि ग्राहकलाई यसले घाटा गराउँछ । किनभने, सबैलाई एउटै डिजाइनको लुगा सुहाउँदैन । कुनै डिजाइन बनाउँदा हामीले उनीहरूको फिगर, स्किन टोन, उचाइ, बजेट आदि सबै विचार गर्छौँ । एकजनालाई सुहाएको लुगा सबैलाई सुहाउँछ भन्ने छैन । भाइरलको पछाडि लागेर आफ्नो बजेट सक्नु हुँदैन । 

त्यस्तै, हामीले लामो समय लगाएर डिजाइन गरेको कपडाको जथाभावी कपी भइरहेको छ । गुणस्तर घटाएर सस्तोमा बेच्ने अनलाइन मौलाइरहेका छन् । त्यसमा सामानको क्वालिटी र लाग्ने मेहनतमा फरक पर्छ । मेटेरियल पनि सस्तो खालको हुन्छ । त्यस्ता लुगा सस्तोमा पाइयो भनेर मख्ख पर्दै लिनुहुँदैन । अनलाइन सपिङको नाममा धेरैजना ठगिएका उदाहरणहरू छन् । एउटा सामान देखाएर अर्कै सामान बिकाउने परिपाटी एकदमै बढिरहेको छ । अरुले बनाएको डिजाइनलाई मेरो भनेर कपी गरेर बेचिरहेको पाइएको छ । ग्राहकहरूले यस्तो कुरामा होसियार हुनुपर्छ । 

मेहनत गरेर आज एउटा डिजाइन बनायो भोलि मार्केटमा भाइरल भइसकेको हुन्छ । १० हजार रुपैयाँ पर्ने डिजाइनर लुगालाई २ हजार भनेर डुब्लिकेट सामान बेच्नेहरूको बिगबिगी छ । उनीहरूलाई कसले नियन्त्रण गर्ने ? फेसन मार्केटमा सबै प्रतिस्पर्धा गरेर व्यापार गर्नमै व्यस्त छन् । कसैले आफ्नो डिजाइन कपी गर्‍यो भने हामीले कुरा राख्ने ठाउँ पनि छैन । धेरैले कपी गरिरहेको हुनाले कपी कसले गरिरहेको छ भन्ने पनि थाहा हुँदैन ।

मार्केटमा हामीले मेहनत गरेर बनाएका डिजाइन कपी भएको देखेर नयाँ डिजाइन सार्वजनिक गर्नै डर लाग्छ । जति नै राम्रो डिजाइन बनाउँदा पनि सार्वजनिक गर्न मन लाग्दैन । मैले पछिल्लो समय धेरै मौलिक डिजाइनका लुगाहरू बनाएको छु तर, कपी हुने डरले सार्वजनिक गरेको छैन । (फेसन डिजाइनर ढकालसँग इकागजले गरेको कुराकानीमा आधारित ।) 


Author

थप समाचार
x