अर्थ / बाणिज्य

भारतमा चरम ऊर्जा संकट, नेपालका लागि अवसर

विकास थापा |
असोज २२, २०७८ शुक्रबार १८:० बजे

काठमाडौँ -  भारतमा कोइलाको चरम अभाव भएर बिजुली उत्पादनमा कटौती हुन थालेपछि नेपालबाट बिजुली निर्यात वृद्धि हुन थालेको छ । विद्युत् प्राधिकरणका अनुसार केही सातायता दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात भएको हो । भारतले औपचारिक तथा व्यापारिक तवरबाट नभई ‘इनर्जी बैकिङ’ शैलीमा नेपालको बिजुली आयात गरेको प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईले बताए । आजको तथ्यांकअनुसार भारतमा ३३ लाख ५६ हजार युनिट बिजुली निर्यात भएको छ ।

केही सातादेखि भारतमा कोइलाको चरम अभाव हुन थालेको छ । भारतीय विद्युत् मन्त्री आर.के. सिंहले भारतीय राष्ट्रिय दैनिक ‘इण्डियन एक्सप्रेस’ लाई हालै दिएको अन्तर्वार्तामा ‘आगामी पाँचदेखि ६ महिनासम्म अवस्था सहज नहुने’ बताएका थिए ।


भारतमा कूल ४ लाख ३१ हजार मेगावाट बिजुली उत्पादन हुने जडित क्षमता छ । यसको कूल क्षमतामा ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुन्छ । हालैका दिनमा अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यमा ४० प्रतिशत वृद्धि भएकाले त्यसलाई बालेर बिजुली उत्पादन गर्न भारत असमर्थ हुने स्थितिमा पुगेको भारतीय अखबारहरुले समाचार प्रकाशित गरेका छन् ।

कोभिड–१९ को दोस्रो लहरबाट तङ्ग्रिन थालेको भारतीय अर्थतन्त्रमा विद्युत्को माग १७ प्रतिशतले बढेको छ । भारत कोइला आयातमा विश्वकै दोस्रो नम्बरमा पर्छ । भारतमा देशभर १३५ वटा कोइलाबाट विद्युत् उत्पादन गर्ने भट्टी छन् । तीमध्ये ६४ वटा बन्द भइसकेका छन् । भारत सरकारले आफ्नै देशको खानीबाट सक्दो कोइला उत्पादन गर्न राज्य सञ्चालित कोल इण्डिया लिमिटेडलाई निर्देशन दिइसकेको छ । 

यता प्राधिकरणले हाल बिहार राज्यलाई मात्र बिजुली आपूर्ति गर्दै आएको निर्देशक भट्टराईले बताए । ‘कुनै बेला सय र कुनै बेला दुई सय मेगावाट बिजुली माग हुने गर्छ,’ भट्टराईले शुक्रबार इकागजसँग भने, ‘हामीले मागेका बेला दिइरहेका छौं ।’

वर्षायाममा नेपालमा उत्पादन धेरै हुने हुनाले गत वर्षदेखि बिजुली जगेडा हुँदै आएको छ । यो बिजुली बेच्न नेपाल सरकारले प्रयास गर्दै आएको छ । तर भारतले आयात गर्न अनुमति दिए पनि निर्यात गर्न भने अझै बाटो खुलाएको छैन । भारतको केन्द्रीय विद्युत् प्राधिकरण र विद्युत् मन्त्रालयमा नेपालको प्रस्ताव लामो समयदेखि निर्णयविहीन अवस्थामा छ । 

भारतीय ऊर्जा संकटका बेला दिइएको बिजुली हिउँदयाममा बिजुली नै लिन सकिने भट्टराई बताउँछन् । बिजुली नदिए भारतबाट जुन मूल्यमा आयात गरिएको त्यही मूल्य नेपालले पाउने उनले बताए । वैश्विक महामारी कोभिड–१९, मौसम परिवर्तनका कारण कार्बन उर्त्सजन गर्न अमेरिका, चीन र भारतले गरेको प्रतिबद्धता, इरान र चीनको कोइला आपूर्तिसम्बन्धी दीर्घकालीन सम्झौता लगायतका कारण भारतमा कोइलाको अभाव भएको हो । 

सन् २०१५ मा भएको पेरिस सम्झौताअनुसार भारतले आगामी सन् २०३० सम्म कार्बन प्रदूषण ४२ प्रतिशतले घटाउनुपर्छ । भारतमा कोइला संकट नेपालका लागि जलविद्युत् विकासको अवसर पनि हुन सक्ने जलविद्युत् प्रवद्र्धक एवं इन्जिनियर ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । ‘सौर्यजस्ता नवीकरणीय ऊर्जाले भारतको पिक डिमाण्ड (उच्चतम माग) धान्न सक्दैन, उसलाई जलविद्युत् नै चाहिन्छ,’ प्रधानले भने, ‘अब नेपाल र भारतबीच जलविद्युत्को सहकार्य हुने सम्भावना बढेर गएको छ ।’
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x