अर्थ / बाणिज्य

जनस्वास्थ्यमा असर पुर्‍याउने उद्योगहरू हटेन : भक्तपुर मेयर

इकागज |
पुस २, २०७७ बिहिवार १९:९ बजे

भक्तपुर : जनताको स्वास्थ्यमा प्रत्यक्ष्य असर पार्ने उद्योगहरू हटाउन नगरपालिकाले पटकपटक अनुरोध गर्दा पनि नहटेको मेयर सुनील प्रजापतिले गुनासो गरेका छन् । नगरपालिकाको ७१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिका-२ स्थित साना औद्योगिक क्षेत्र व्यासीमा जनताको स्वास्थ्यमा असर पुर्‍याउने खालका उद्योगका केही उद्योगपतिहरूसँग नगरपालिकाको विवाद कायम रहेको बताए ।

‘उक्त औद्योगिक क्षेत्र २०३६ सालमा परम्परागत सीपमा आधारित हस्तकला उद्योग स्थापना गर्न जग्गा अधिग्रहण गरेको थियो । पछि ध्वनि, धूवाँ र रसायन प्रदूषण फाल्ने उद्योगहरु स्थापना गरियो,’ मेयर प्रजापति भन्छन्, ‘त्यसपछि जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने टेक्स्टाइल, प्लास्टिक र रंगरोगनका उद्योगहरु हटाउन स्थानीय जनताले बारम्बार माग गरेपछि उद्योगहरु स्थानान्तरणको लागि नगरपालिकाले उद्योग राज्य मन्त्री, उद्योग क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरु सित पटकपटक अनुरोध गर्यौँ । तर कार्यान्वयन भएन ।’


सरकारले २०७३/०७४ को बजेटमा समेत उद्योगहरु काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्ने उल्लेख गरेको थियो । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले यसबारे पटकपटक पहल गरिरहेको र संसदीय समितिमा समेत यसबारे कुरा उठाएको मेयर प्रजापतिले जनाए । उद्योग मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा एउटा अनुगमन समिति गठन गरिएको छ ।

संसदीय समितिको तर्फबाट पनि अर्काे समिति गठन भएको जानकारी नगरपालिकाले पाएको छ । मेयर प्रजापति भन्छन्, ‘समिति गठन गरेर जनताको भावनालाई पन्छाउने काम नहोस् । समितिले जनताकै पक्षमा प्रतिवेदन दिने र त्यसको कार्यान्वयन हुनेमा हामी आशावादी छौँ ।’  त्यहाँ स्थापित उद्योगहरुले वर्षौंदेखि नगरपालिकालाई कानुनबमोजिम तिर्नुपर्ने झन्डै एक करोड रुपैँया कर समेत नतिरेको मेयर प्रजापतिले जनाए । 
 


Author

थप समाचार
x