अर्थ / बाणिज्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामा प्रतिब्यारेल १० डलर बढ्यो

आइओसीको नयाँ मूल्यसूची आएसँगै उपभोक्ता मूल्य बढाउने निगमको दाउ

इकागज |
असोज ३१, २०७८ आइतबार १७:२५ बजे

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा पछिल्लो एक महिनामा कच्चा तेल (ब्रेन्ट क्रुड आयल) प्रति ब्यारेल अर्थात् १५९ लिटरमा १० डलर २२ सेन्टले वृद्धि भएर ८४.८६ डलर प्रतिब्यारेल पुगेको छ । 

महामारी शुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३१.०२ अमेरिकी डलरसम्म झरेको थियो भने त्यसको एक वर्षपछि पुनः कच्चा तेलको मूल्य क्रमशः पहिलेकै अवस्थामा फर्कदैं उकालो लागेको हो । महामारीका कारण घटेको कच्चा तेलको मूल्य पुनः एक वर्षपछि सन् २०२१ को मार्चसम्म आइपुग्दा ६२.७० अमेरिकी डलर पुगेको थियो । त्यसयता पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः उकालो लागिरहेको छ । 


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमले आइओसीबाट अंग्रेजी क्यालेन्डर अनुसार हरेक महिनाको १ र १६ तारिखमा अद्यावधिक मूल्यसूची प्राप्त गर्छ । नेपाल आयल निगमले पछिल्लोपटक भदौ ७ मा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेसँगै मूल्य समायोजन गर्नुपर्ने दबाब रहेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पाैडेलले बताए । 

उनका अनुसार, आइओसीबाट अक्टोबर १६ मा प्राप्त पछिल्लो मूल्यसूची अनुसार निगमको मासिक घाटा झण्डै साढे चार अर्ब रुपैयाँ पुग्नेछ । सरकारले पेट्रोलियम पदार्थमा अचाक्ली कर पनि थोपर्दै आएको छ । पछिल्लोपटक पूर्ववर्ती अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोल र डिजेलमा प्रतिलिटर १०–१० रुपैयाँ कर बढाइदिएका थिए । 

आइओसीको पछिल्लो मूल्यसूची र सबैथरी कर जोडेर निगमको लागत पेट्रोलमा प्रतिलिटर १४५.०१ रुपैयाँ, डिजेलमा १२७.५६ रुपैयाँ, मटितेलमा ९३.४१ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ९०.५६ तथा एलपी ग्यास प्रतिसिलिण्डर १,९६१.८८ रुपैयाँ पर्ने निगमले जनाएको छ । 

निगमले अहिले पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मटितेलको समान मूल्य प्रतिलिटर ११३ रुपैयाँ, आन्तरिक हवाई इन्धन (एटीएफ)को ८६ रुपैयाँ र एलपीजी ग्यास प्रतिसिलिण्डर १,४५० रुपैयाँ उपभोक्ता मूल्य कायम गरेको छ । 

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुँदाको नाफाको केही हिस्साबाट मूल्य स्थिरिकरण कोष खडा गरी अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिदाँ नेपाली उपभोक्तालाई राहत दिने प्रबन्धबाट लागत मूल्यभन्दा सस्तो पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ । 


Author

थप समाचार
x