अर्थ / बाणिज्य

नेपाली चियामा भारतको बक्रदृष्टि, निर्यात प्रभावित हुने संकेत

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार ७:३८ बजे

काठमाडौँ- यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान र फ्याक्ट्रीहरू बन्द रहेकाले पनि नेपाली उत्पादकले राम्रो मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू बताउँछन् । यद्यपि, यो वर्ष भने उत्पादनको लागत मूल्यभन्दा कम मूल्य प्रस्ताव आएको र यो मूल्यमा निकासी गर्न सम्भव नभएको उत्पादकहरू बताउँछन् । 

गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्ममा निर्यात भएको नेपाली चियालाई भारतीय आयातकर्ताले ८० देखि ९० रुपैयाँ प्रतिकेजी प्रस्ताव गरेका छन् । त्यस्तै, हरियो पत्ता गत वर्ष प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्ममा निकासी भएको थियो, अहिले हरियो पत्ताका लागि ७–८ रुपैयाँमात्र मूल्य प्रस्ताव भएको छ । जसका कारण उत्पादकहरू चिया गोदाममा थन्क्याउन बाध्य छन् ।


नेपालको प्रमुख निकासीवस्तु चिया गत वर्ष १३ हजार एक सय ४० टनको परिमाणमा ३ अर्ब ७९ करोड रुपैयाँमा निकासी भएको थियो । नेपालका २८ जिल्लामा १६ हजार ९ सय हेक्टरभन्दा धेरै क्षेत्रफलमा चिया खेती हुँदै आएको छ भने १४ हजारभन्दा धेरै साना उत्पादकहरू संलग्न छन् । प्रमुख नगदेबालीका रूपमा लिइने चियाको वार्षिक उत्पादन झण्डै २५ हजार टन छ । 

 

(चिया उत्पादन हुने जिल्लाहरू र उत्पादन केजीमा)

नेपाली चियालाई विश्वबजारमा पठाउन चियाको ‘अक्सन हाउस’ निर्माण गर्ने र विश्वबजारबाट दरको बोलकबोलबाट बेच्ने नीतिगत घोषणा अब कथा भैसकेका छन् । जसले गर्दा नेपाली उत्पादक भारतीय बजारमा निर्भर छन् । नेपालमा उत्पादित चियामध्ये आधाभन्दा धेरै निकासी हुँदै आएको छ । आन्तरिक खपत धान्न नेपालले वार्षिक सवा दुई सय टनसम्म चिया आयात पनि गर्दै आएको छ । 

भारतको बक्रदृष्टि 

नेपाली चियाको निर्यात बजारको विविधिकरण गर्न नसक्दा उत्पादकहरू भारतीय बजारमा निर्भर छन् । भारतसँग नेपालको ठूलो व्यापारिक निर्भरता छ । आयात र निर्यात दुवै ६५ प्रतिशत व्यापार भारतसँग हुन्छ । भन्सार विभागको तथ्यांक अनुसार, गत वर्ष भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ६५ अर्ब रुपैयाँ छ । यद्यपि भारतले नेपालको निर्यातलाई उसको बजारमा सहज प्रवेश दिने विषयलाई सधैं सौदाको विषय बनाउँदै आएको छ । भारतीय वस्तु नेपालमा निर्बाध प्रवेश गरेपनि नेपालका निकासी वस्तुलाई भारतले विभिन्न गैर–भन्सार अवरोध सिर्जना गर्दै आएको छ । कतिपय नाशवान (पेरिसेबल) वस्तुहरू गुणस्तर परीक्षणसम्बन्धी नयाँ मापदण्डहरू अपनाएर भारतीय क्वारेन्टीनमा गरिने अवरोधले नाकामै कुहिने/सड्ने समस्या हुने गरेको छ । यसअघि नेपालबाट निकासी हुने अदुवामा पनि भारतले यस्तै रवैया अपनाएर दुःख दिएको थियो । 

यस वर्ष फेरि भारतले नेपालबाट भारतमा निकासी हुने शून्य भन्सारमा आधारित चियाले भारतीय चिया उत्पादकलाई असर पारेको जस्तो गलत मनसायप्रेरित तर्क अघि सार्न थालेको छ । भारतको फाइनान्सियल एक्सप्रेस पत्रिकाले हालै प्रकाशित गरेको समाचार अनुसार, नेपालबाट शून्य भन्सार सुविधामा निकासी भइरहेको चियाले भारतीय उत्पादन र त्यहाँका उद्योगलाई असर पारेको उल्लेख गरेको छ । 

भारतले पुनः निकासीका लागि नेपालबाट चिया आयात गर्दै आएको छ । नेपालबाट हुने सानो परिमाणको निकासीले विशाल भारतको बजारलाई असर पारेको भन्ने तर्क आफैंमा हाँस्यास्पद रहेको व्यापारविज्ञ डा. पोषराज पाण्डे बताउँछन् । नेपालबाट आयात हुने अधिकांश हिस्सा भारतले तेश्रो मुलुकमा पुनःनिर्यात गर्दै आएकोले यसले भारतको आन्तरिक बजारमा असर पारेको भन्ने भनाइ नै गलत भएको उनको भनाइ छ । 

भारतले नेपालबाट मात्र होइन, अफ्रिका, अर्जेन्टीना, भियतनाम लगायत मुलुकबाट समेत चिया आयात गर्दै आएको छ । यो चिया भारतका विभिन्न चिया ब्राण्डका नाममा तेश्रो मुलुकमा बिक्री भैरहेको छ । नेपालको निकासी परिमाण नै जम्माजम्मी १३ हजार टन छ भने त्यसको अधिकांश हिस्सा भारतमा निकासी हुन्छ । भारतको उक्त पत्रिकाको दाबी अनुसार ५००० देखि १० हजार टनसम्म आयातीत चिया भारतीय बजारमा बिक्री भइरहेको छ । 

भारतको चिया बोर्डका अनुसार, यो वर्ष भारतमा चियाको उत्पादन बढेको छ । गत वर्षको ६ लाख ७० हजार टन चिया उत्पादनको तुलनामा यो वर्ष सात लाख ९२ हजार टनभन्दा धेरै चिया उत्पादन भएको छ । झण्डै सवा एक लाख टन चिया उत्पादन भारतमा नै बढेकाले अहिले भारतले नेपालबाट कौडीको भाउमा चिया लैजाने नभएर आयात नै नगर्ने रणनीति बनाएको बुझिएको छ । 

अर्कोतर्फ भारतले चिया निकासी गर्दै आएको इजिप्ट, इरान, रूस लगायतका बजार सस्तो केन्याली उत्पादनले ओगटेको बताइन्छ । त्यी बजारहरूमा केन्याको चिया १५० भारतीय रुपैयाँ प्रतिकेजी छ भने भारतीय चिया २७१ भारु मूल्यमा पठाइएको थियो । जसका कारण त्यी बजारमा केन्याली चियासँग प्रतिस्पर्धा गर्न भारतले नेपालबाट निकै सस्तो मूल्यमा चिया लिने प्रस्ताव गरेको र नेपाली चियालाई शून्य भन्सारमा भारतीय बजारमा प्रवेश दिन नहुने मुद्दा उठाउन थालेको छ ।

भारतले नेपालको व्यापारघाटा भारतमा व्यापारको निर्भरतालाई नहेरि नेपालको सानो उत्पादनमा समेत बार्गेनिङ गर्दा भारतको बजारलाई हेरेर चिया उत्पादन गर्ने उत्पादक र चिया उद्योग प्रभावित हुने भएका छन् । 


Author

थप समाचार
x