अर्थ / बाणिज्य

बिहारले लिन छाड्यो नेपालको बिजुली

इकागज |
कात्तिक ७, २०७८ १६:१७ बजे

काठमाडौँ -  सख्त ऊर्जा संकट झेलिरहेको छिमेकी भारतले गत सातादेखि नेपालबाट बिजुली लिन छाडेको छ । दैनिक करिब २०० मेगावाटसम्मको बिजुली लिएको भारतले गत साता वर्षा भएयता लिन छाडेको विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीच हालसम्म विद्युत् आयात–निर्यातसम्बन्धी सम्झौता भएको छैन । तर आदान–प्रदान सम्झौता भने छ । यसअनुसार भारतले चाहेको बेला लिने र नचाहेको बेला नलिने परिपाटी कायम छ । 


कोइला उत्पादन तथा भण्डारणमा जटिल समस्या आएसँगै भारतले दुई महिनासम्म नेपालबाट बिजुली लिएको थियो । ‘मागेको बेला दिने हो, के कारणले नेपालको बिजुली नलिएको हो, यसबारे प्राधिकरणलाई औपचारिक जानकारी छैन,’ प्राधिकरणको प्रणाली सञ्चालन विभागमा निर्देशक सुरेश भट्टराईले भने । 

भारतकै आन्तरिक बजारमा महँगो भएको बेला उसले नेपालसँग लिने गर्छ । उतै सस्तो भएका बेला नलिने विगतको अभ्यासलाई अनुमान गर्ने हो भने भारतीय ऊर्जा बजारमा प्रतियुनिट १०, ११ (भारु) बजार मूल्य हुँदा ६ रुपैयाँ ५५ पैसा पर्ने नेपालको बिजुली लिन्छ । तर भारतीय बजारमा ६ रुपैयाँभन्दा कम मूल्य कायम भएको बेला नेपालको बिजुली लिने नगरेको प्राधिकरण अधिकारीहरूको अनुमान छ ।

भारत सरकारले नेपाललाई बिजुली आयात गर्न अनुमति दिएको छ तर निर्यात भने गर्न दिएको छैन । नेपालले माथिल्लो तामाकोसी र भोटेकोसीको बिजुली निर्यात गर्न करिब एक वर्षअघि नै प्रस्ताव पठाइसकेको छ । नेपालको उक्त प्रस्ताव एक वर्ष बित्न लाग्दासमेत भारतले ‘अध्ययन’ मात्र गरिरहेको छ । 

त्यसो त नेपालसँग अब मुश्किलले यो महिनासम्म मात्र ‘जगेडा’ बिजुली हुनेछ । आगामी डिसेम्बरपछि भने पुनः आयात नै गर्नुपर्ने अवस्था छ । दशैंदेखि तिहारसम्म सबैभन्दा कम बिजुली खपत हुने अवधि हो । यो बेला उद्योगहरू पूर्ण रुपमा नचल्ने, न गर्मी न जाडोको मौसम हुने, तराईमा पंखा चलाउनु नपर्ने हुनाले गार्हस्थ्य मागमा ह्रास हुने र विशेष गरी पर्यटक अभावमा होटलहरू सञ्चालनमा नआएकाले पनि खपत कम भएको भट्टराई बताउँछन् ।

यद्यपि अत्यधिक विद्युत् खपत (पिक) भने १४ सय मेगावाटको हाराहारीमा रहेको भट्टराईले बताए । यो पिक लोड करिब आधा घण्टाका लागि मात्रै हो । त्यसपछि पुनः माग घट्न सुरु भएर बिजुली जगेडा हुन पुग्छ । ‘अहिले त पिकका बेला कुलेखानी (जलाशय) समेत चलाउनु पर्दैन,’ उनले भने । 

प्राधिकरणको प्रणालीमा अहिले उत्पादन गरिरहेको बिजुलीको क्षमता करिब १५ सय मेगावाट छ । कुलेखानीलाई छाड्ने भने १३३९ सय मेगावाट मात्र सञ्चालनमा छन् । प्राधिकरणको आफ्नै विद्युत् गृहबाट ३४५, उसको सहायक कम्पनीबाट (माथिल्लो तामाकोसीसहित) ४१२ र निजी क्षेत्रको ५८२ मेगावाट सञ्चालनमा रहेको भट्टराईले जानकारी दिए ।

पिक मागलाई छाडेर यतिखेर दैनिक २ दुई हजारदेखि २ हजार पाँच सय मेगावाट घण्टा (२० लाखदेखि २५ लाख युनिट) मात्र बिजुली जगेडामा छ । निजी र प्राधिकरणका कतिपय विद्युत् गृह बाढी तथा नियमित मर्मतका कारण बन्द छन् ।  चिनियाँ लगानीको माथिल्लो मर्स्याङ्दीको एउटा युनिट (२५ मेगावाट), माथिल्लो तामाकोसीको एउटा युनिट ७६ मेगावाट, निजी क्षेत्रको नागार्जुन मादी (१२ मेगावाट), सिकलेस (१३ मेगावाट) मोदी १० मेगावाट, प्राधिकरणको मध्य मर्स्याङ्दीको एउटा युनिट (२३ मेगावाट) र काबेली कोरिडरका निजी क्षेत्रका केही विद्युत्‌गृह बाढीका कारण बन्द छन् । ‘यसले गर्दा पनि जगेडा बिजुली हाललाई कम देखिएको हो,’ भट्टराईले भने, ‘अर्काे महिनादेखि यो जगेडा बिजुली पनि हुनेछैन ।’ 



Author

थप समाचार