अर्थ / बाणिज्य

आरटीडीएफ अन्तर्गत थप ९ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार

इकागज |
कात्तिक ८, २०७८ सोमबार १४:३१ बजे

काठमाडौँ- ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजना अन्तर्गत थप नौ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको छ । योजना अन्तर्गत बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दीका साथै बाँके, बर्दिया, दाङ, कैलाली र कञ्जनपुरमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

यी जिल्लामा टेकमाइण्स नेटवर्कले इन्टरनेट विस्तार गरेको हो । यसअघि टेकमाइण्सले इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा ब्रोडब्याण्ड नेटवर्क निर्माण गरी इन्टरनेट सेवा विस्तार गरेको थियो ।


 त्यस्तै वर्ड लिंक कम्युनिकेशन्सले लमजुङ, तनहुँ, कास्की, पर्वत र स्याङ्जामा सेवा विस्तार गरेको प्राधिकरणले जनाएको छ । इन्टरनेट सुरु भएका जिल्लामा नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था र अस्पतालहरूमा उपलब्ध भएको प्राधिकरणले जनाएको छ ।

यी नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था र केन्द्रहरूमा इन्टरनेट सेवा जडान हुन छुट भएमा ३० दिनभित्र प्राधिकरणमा जानकारी गराउन पनि जानकारी दिएको छ ।

यी जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने छ । ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत थप १९ जिल्लाका स्थानीय निकायमा ब्रोडब्यान्ड सेवा सञ्चालन भएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड नेटवर्क विस्तार र सेवा सञ्चालनको जिम्मा पाएका दुई कम्पनीले पूर्व र पश्चिमका १९ जिल्लाहरुमा कार्य सम्पन्न गरेको प्रतिवेदन पेश गरेका छन् ।

 


Author

थप समाचार
x