अर्थ / बाणिज्य

धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने तयारी

इकागज |
कात्तिक १०, २०७८ बुधवार १६:३५ बजे

कैलाली - धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन छलफल शुरु भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेको नेतृत्वमा आज काठमाण्डौंबाट आएको उच्चस्तरीय टोली र सुदूरपश्चिमका मुख्यमन्त्री र सरोकारवालाहरूबीच धनगढी विमानस्थलमा छलफल भयो ।

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि बजेट बिनियोजन गरी जग्गा अधिग्रहण र निर्माण प्रकृयाअघि बढाउने बताए ।


मन्त्री आलेले जग्गा अधिग्रहणका लागि साढे चार अर्ब आवश्यक पर्ने बताउँदै आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । सुदूरपश्चिमको विकास र समृद्धिका लागि धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन आवश्यक भएको बताउँदै मन्त्री आलेले आफूले सपना देखाउनेभन्दा काम गरेर परिणाम देखाउने बताए ।

प्रदेश सरकारस‍ँगको सहकार्यमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गरिने उनको भनाइ छ । मन्त्री आलेले त्यसका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेको जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारीले क्षेत्रीयस्तरको विमानस्थलका लागि  जग्गा अधिग्रहण र पूर्वाधार निर्माणका लागि १५ अर्ब रुपैँया लाग्ने बताए । उनले क्षेत्रीयस्तरको विमानस्थलका लागि २ हजार पाँचसय मिटरको धावन मार्ग निर्माण गरिने र हालको धावन मार्गलाई जहाजहरू पार्किङ स्थलका रुपमा प्रयोग गरिने बताए । 


Author

थप समाचार
x